• १३ साउन २०८१, आइतबार

मृतक मजदुरका परिवारलाई पाँच लाख क्षतिपूर्ति

कावासोतीका स्थानीय र नगरपालिकाबिच १० बुँदे सहमति

blog

सहमति पत्र र सहमति अगाडि नगरपालिकामा तोडफोड गर्दै स्थानीय । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, जेठ ३२ गते। नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि तनावग्रस्त बनेको नवलपुर सदरमुकाम कावासोतीका स्थानीय र नगर पालिकाका प्रतिनिधिबिच १० बुँदे सहमति भएको छ।  पीडितका परिवारलाई पाँच लाख उपलब्ध गराउनेसहित विभिन्न १० बुँदामा सहमति भएको हो। 

दुई पक्षबिच भएको सहमति अनुसार मृतकको सम्मानमा घटनास्थलमा शिलालेख तयार गर्ने, मृतकका परिवारलाई एक घर एक रोजगारीको ग्यारेन्टी गर्ने र रोजगारमा निरन्तरता दिने, मृतकका बालबच्चाको कक्षा १२ सम्मको शैक्षिक सामग्रीसहित अध्ययन व्यवस्थापन गर्ने, मृतक परिवारको स्वास्थ्य बीमा गर्ने, मृतकको बालबच्चाको नाममा पाँच लाखको मुद्दती खाता खोलेर जम्मा गर्ने र राहतस्वरुप पाँच लाख नगद मृतक परिवारलाई उपलब्ध गराउने, मृतक परिवारलाई किरिया खर्चवापत प्रति परिवार ५० हजार नगद तत्काल उपलब्ध गराउने, मृतकको अवस्था हेरेर परिवारको आवश्यकताको आधारमा सुरक्षित आवासको प्रबन्ध गर्ने र शव व्यवस्थापनको लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने सहमति भएको छ। 

सहमतिपत्रमा नगरपालिकाको तर्फबाट उपप्रमुख फूलकुमारी थनेत, वाडा नम्बर ६ का वडाध्यक्ष यामबहादुर थापा, वडा नम्बर ५ का वडाध्यक्ष निरजकुमार पुन, वडा नम्बर २ का वडाध्यक्ष शिवप्रसाद पाण्डे र वडा नम्बर ११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीले हस्ताक्षर गर्नुभएको छ। सहमति पत्रमा मृतकका परिवार तथा सामाजिक व्यक्तित्वले हस्ताक्षर गरेका छन्। 



स्थानीय र मृतकका आफन्तले नगर प्रमुख  विष्णुप्रसाद भुसालको घरमा पनि तोडफोड गरेका थिए। पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गए पनि नगरप्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोशित भएका थिए। 

नाला खन्ने क्रममा पुरिएर बिहीबार कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो। मृतक तीनै जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार प्रदर्शनकारीको आक्रमणमा चार जना प्रहरीसमेत घाइते भएका छन्। 

नगरपालिका र स्थानीय पीडित पक्षबिच सहमति भएपछि स्थानीयले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्।   

यो पनि पढ्नुहोस

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त