• १२ साउन २०८१, शनिबार

नेपाली क्रिकेटप्रति विश्लेषक बढे : सचिव खड्का

blog

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का

काठमाडौँ, जेठ २८ गते । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले नेपालले जारी आइसिसी टी २० विश्वकपमा पहिलो खेल हारेपछि धेरै आलोचना भएको भन्दै नेपाली क्रिकेटप्रति विश्लेषकहरूको वृद्धि भएको टिप्पणी गर्नुभएको छ ।

सोमबार ललितपुरमा सिजी फुड्स नेपाल लिमिटेडले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा उहाँले यस्तो प्रतिक्रिया जनाउनुभएको हो ।

सचिव खड्काले नेपाल १० वर्षको अन्तरालपछि टी २० विश्वकप खेलिरहेको तर एउटा खेल हारेसँगै क्रिकेट टिमप्रति धेरै विश्लेषक बढेको बताउनुभयो । उहाँले अझै तीन वटा खेल बाँकी रहेको र नेपाली टिमले राम्रो खेल्ने जानकारी दिनुभयो ।

उहाँले नेपाल क्रिकेटप्रतिको चासो र माया बढ्नु राम्रो रहेको बताउनुभयो । उहाँले नेपाली क्रिकेट धेरै सङ्घर्षबाट यस स्थानमा आइपुगेको भन्दै क्रिकेटप्रतिको आशासँगै वास्तविकतामा बसेर विश्लेषण गर्न आग्रह गर्नुभयो । उहाँले नेपाल विश्वका नम्बर वान देशहरूसँग खेलिरहेकाले एउटा खेलबाट मूल्याङ्कन नगर्न आग्रह गर्नुभयो ।

‘‘लगभग १० वर्षको अन्तरालपछि हामी अहिले टी २० विश्वकप खेलिरहेका छौँ । तीन वटा म्याच बाँकी छ । फस्र्ट म्याचको रिजल्ट पछि अलिकति हामी धेरै नै सबैजना क्रिकेट टिमप्रति धेरै नै विश्लेषकहरूको वृद्धि भएको छ । नेपाल क्रिकेटप्रतिको चासो र माया बढेको र त्यससँगै आशा पनि धेरे नै बढेको छ ।,’’ सचिव खड्काले भन्नुभयो, ‘‘तर मेरो विनम्र अनुरोध यो छ की नेपाली क्रिकेट धेरै नै सङ्घर्ष गरेर यहाँसम्म आइपुगेको हो । धेरै मान्छेहरूको सहयोगले यो स्थितिसम्म आएको छ । आशासँगै रियालिटीमा बसेर नेपाल विश्वकप खेल्दैछ । नेपाल विश्वका नम्बर वान देशहरूसँग खेल्दैछ । खेलाडीहरूले जी ज्यान लगाएर गर्नुभएको छ । क्यानले जे गर्नसक्थ्यो । त्यो गरेको छ । हामी सकारात्मक सोचका साथ अघि बढौँ ।’’

उहाँले खेलाडीहरूका लागि क्यानले सक्ने जति सबै गरेको भन्दै सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गर्नुभयो ।