काठमाडौं, जेठ २८ गते । लघु चलचित्र ‘द स्कुल वाल’ रसियाको किनो फेस्टिभलको फाइनलमा पुगेको छ । सेप्टेम्बर १२ देखि १६ सम्म रसियाको क्रेस्टोभय ५ मा आयोजना हुने चलचित्र महोत्सवमा नेपालको अर्को लघु चलचित्र ‘पाउलो’ पनि छनोट भएको छ । बालमनोविज्ञानमा आधारित ‘द स्कुल वाल’ यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोशड इन्टरनेशनल एजुकेशन एण्ड साइन्टिफिक फिल्म फेस्टिभल, जिम्वावेको भर्सिटी फिल्म एक्स्पो र बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो ।
काठमाडौंमा भर्खरै सम्पन्न भएको काठमाडौं इन्टरनेशनल माउण्टेन फिल्म फेस्टिभलमा ‘द स्कुल वाल’ छनोट भएर राष्ट्रिय सभा गृहमा प्रदर्शन भइसकेको छ ।लघुचलचित्रमा श्लोक साहले मुख्य भूमिका निर्वाह गर्नुभएकाे छ । अन्य चर्चित कलाकारहरु सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गीता श्री थापा, आयुषा गौतम, बिदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहको अभिनय छ । लघुचलचित्रमा सुरेन्द्र क्षेत्रीकाे कास्टिङ डिरेक्सनसँगै निर्माण छ ।
‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गईरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाएहरु अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के के सम्म गर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसका निर्माता सुरेन्द्र क्षेत्री बताउनुहुन्छ ।
रसियामा छनोट भएको अर्को नेपाली सर्टफिल्म ‘पाउलो’ यसअघि भारतको सिएमएस्, इन्टरनेशनल चिल्ड्रेनस् फिल्म फेस्टिभल ’आईसीएफसी’ को नोमिनेशनमा परेको थियो । जुत्ताको कथावस्तु रहेको लघुचलचित्र ’पाउलो’ मा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाहपश्चात् श्रीमान वा श्रीमतीको मृत्यु भयो भने उसले अर्को विवाह गरेको घटनाहरु समाजमा पाईन्छ,
यस्तै मानिसको कथालाई विम्बको रुपमा जुत्ताको जीवनकथा प्रस्तुत गरिएको निर्माण टिमले बताएको छ । कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ । त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रुवाउँछ वा समयअनुसार उही मानिसलाई दुखी बनाइदिन्छ । लघु चलचित्र ‘पाउलो’ मा पनि एउटा जीवन्त कथा र समाजको यथार्थ चित्रण रहेको छ । जुत्ता एउटा सामग्री मात्र हैन, मानवीय अनुभुतीहरू पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ । जुत्ताको कथा रहेको ’पाउलो’ लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ । ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरुको उत्पादन तथा वितरण गर्दै आइरहेको छ ।
काठमाडौंमा छायाङ्कन गरिएको दुवै लघुचलचित्रको दृश्य नारायण जिसीले खिच्नुभएकाे हुाे । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिलकुमार महर्जन र सहायक निर्देशन करन साउदको रहेको छ । ऐना आर्टसकाे प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र ‘द स्कुल वाल’ र ‘पाउलो’को लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उहाँले यसअघि निर्माण गरेका लघु चलचित्र ‘भाउ’, ‘घुर्रा’, विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरुमा छनोट भएर विभिन्न देशहरुमा प्रदर्शन भएको छ । एक सटमा खिचिएको ’घुर्रा’ले नेपालमा केहि समयअघि आयोजना भएको नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट लघुचलचित्रको अवार्ड प्राप्त गरेको थियो ।