• ९ मंसिर २०८१, आइतबार

तीनघरेमा आदिवासी सांस्कृतिक महोत्सव

blog

प्रेम अधिकारी 

पशुपतिनगर (इलाम), जेठ २७ गते । इलामको तीनघरेमा आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव सुरु भएको छ । विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनीसँगै सूर्योदय नगरपालिका–११ को तीनघरेमा दुई दिने आदिवासी जनजाति सांस्कृतिक तथा खाना महोत्सव आजदेखि सुरु भएको हो । 

कोशी प्रदेशमार्फत सशर्त अनुदानतर्फ सूर्योदय नगरपालिकाले प्राप्त गरेको आठ लाख रुपियाँ लगानीमा नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद् र सूर्योदय महिला मञ्च फिक्कलको आयोजनामा सुरु भएको महोत्सवमा रैथाने खानाका परिकार राखिएको छ । 

महोत्सवमा राई, लिम्बु, मगर, नेवार, तामाङ र लोपोन्मुख लाप्चा जातिका रैथाने खानाका परिकारका स्टल राखिएको छ । दुई दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन हुने आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ सूर्योदय नगर समन्वय परिषद्का अध्यक्ष सोनाम यल्मोले जानकारी दिनुभयो । 


अध्यक्ष यल्मोले भन्नुभयो, ‘आदिवासी जनजातिको कला, संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन, प्रवर्धन र पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।’ महोत्सवको उद्घाटन गर्दै जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईले विभिन्न जातजातिको रहनसहन, भाषा संस्कृति संरक्षण गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो । 

सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले नगरपालिकाले विभिन्न जातजातिको संस्कार संस्कृतिलाई पर्यटनमा जोड्न नगरले आर्थिक स्रोतको व्यवस्थापन गर्दैआएको जानकारी दिनुभयो । उहाँले यस प्रकारका महोत्सवमा संस्कार, संस्कृतिसँगै स्थानीय खानाका परिकारले पर्यटकलाई आकर्षण गर्ने बताउनुभयो । 

महोत्सवमा स्थानीय वाचिपा, कोदोक, फापरको रोटी, ढिँडो, गुन्द्रुक, तरुलजस्ता परिकार राखिएको छ । महोत्सवमा विभिन्न जातजातिले लोप हुँदैगएका बस्तुको समेत प्रदर्शन गरेका छन् । 

महोत्सवमा किरात राई यायोख्खा, किरात याक्थुङ चुम्लुङ, सुनुवार सेवा समाज, नेपाल तामाङ घेदुङ, नेपाल योल्मो समाज सेवा सङ्घ, नेपाल शेर्पा समाज, नेपाल मगर सङ्घ, लाप्चा उत्थान मञ्च, नेवा: दय दबूँ, नेपाल थामी समाज, तमु ह्युल छोँज दी, भुजेल सेवा समिति, किरात याम्फू समाज, किरात मेवाहाङ याखोम्मा लगायतको सहभागिता छ । 


आयोजक सूर्योदय महिला मञ्चका सचिव साधना फागोले नयाँ र पुराना पुस्ता मिलेर आदिवासी जनजातिको पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्न महोत्सवले सहयोग पुग्ने बताउनुभयो । ‘कला, संस्कृति र परम्परा आदिवासी जनजातिको मुख्य पहिचान हो, यसलाई पुस्तान्तरण गर्दै जानुपर्छ’ मञ्चका सचिव फागोले भन्नुभयो । 

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् इलामका अध्यक्ष चक्र एक्तेनले आदिवासी जनजातिका संस्कार संस्कृति संरक्षण गर्न तीनै तहका सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । महोत्सवमा १५ हजार बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।