• १२ साउन २०८१, शनिबार

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’

blog

प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री सुदन किराती । फाइल तस्बिर

काठमाडौँ, जेठ २६ गते । प्रतिनिधिसभा सांसद एवम् पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । किरात राई यायोक्खा काठमाडौँद्वारा टुँडिखेलमा आयोजित उँभौली साकेला सिली नाच प्रदर्शनमा किरातीले सरकार र राजनीतिक नेतृत्वले राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

“उभौलीमा किरातीहरुले नयाँ कृषि कर्मको थालनी गर्छन् । आजको युगमा हामीले नयाँ सोच र सिर्जनाको पनि थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानमा लेखिएका मौलिक हकहरु व्यवहारमा लागू भएको देख्न पाउने दिनमा मात्र नागरिकहरु खुसी हुने छन्, नागरिक खुसी भए देश बचाउनका निम्ति राष्ट्रभाव बलियो हुन्छ ।” 

सांसद किरातीले संविधानअनुसार आवश्यक ऐन, कानुन र नियमावली बनाएर तत्काल कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो । किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले उँभौलीको शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचानको अभियानलाई सशक्त बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता उल्लेख गरिएको छ तर अहिले राजनीतिकर्मीहरूले नै यसलाई साम्प्रदायिक र जातीय कुरा हो, यसले विध्वंस निम्त्याउनेछ जस्ता भाष्य निर्माण गरिरहेका छन्, यो राम्रो होइन ।”

प्रकृति पुजारी किरात समुदायको  चाड उँभौैली देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस चाडमा किरातीहरुले एकापसमा भेला भई सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदानप्रदान गर्ने गर्छन् । किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’अनुसार समयलाई दुई भागमा बाँडेको छ, उँधौली र उँभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । खेती किसानी गर्नका लागि मनाइने चाड उँभौली हो । रासस