• १० कात्तिक २०८१, शनिबार

लिङ्तेपलाई जिल्ला लिग ‘ए’ डिभिजनको उपाधि

blog

जिल्ला लिग ‘ए’ डिभिजन उपाधि विजेता प्रगतिशील युवा क्लबका खेलाडीलगायत।

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ २६ गते। ताप्लेजुङमा सञ्चालन गरिएको जिल्ला लिग फुटबल प्रतियोगिताअन्तर्गत ‘ए’ डिभिजनतर्फको उपाधि प्रगतिशील युवा क्लब मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपले जितेको छ। मैवाखोला गाउँपालिकास्थित लालिमा युवा क्लब ढुङ्गेसाँघुलाई ३–१ को गोलअन्तरले पराजित गर्दै लिङ्तेपले उपाधि जितेको हो।

आठराई त्रिवेणी गाउँपालिकाको प्रायोजन तथा ताप्लेजुङ जिल्ला फुटबल सङ्घको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो। जिल्ला लिग ‘ए’ डिभिजन प्रतियोगिताको विजेता प्रगतिशील युवा क्लबले नगद ५० हजार रुपियाँ पुरस्कार र ट्रफी प्राप्त गरेको छ। यस्तै उपविजेता बनेको लालिमा युवा क्लबले २५ हजार रुपियाँ नगद पुरस्कारमा चित्त बुझाउनुपरेको छ।

जिल्ला लिग ‘ए’ डिभिजनअन्तर्गत फुटबल प्रतियोगिता आठराई त्रिवेणी गाउँपालिका–५ को चाँगे माध्यमिक विद्यालय खेल मैदानमा ज्येष्ठ २१ गते सोमबारदेखि सुरु भई शुक्रबार सम्पन्न भएको हो। यता ‘ए’ डिभिजनमा रहेका जिल्लाका दुईवटा क्लब ‘बी’ डिभिजनमा घटुवा भएको जिल्ला फुटबल सङ्घका अध्यक्ष अशोक चेम्जोङले जानकारी दिनुभयो। 

उहाँकाअनुसार प्रतियोगितामा लिग चरणको अङ्क तालिकामा सबैभन्दा कम अङ्क प्राप्त गर्ने अर्थात् पुच्छरमा रहेका मानाभरा यूथ स्पोर्टिङ क्लब खेजेनिम र माछा पोखरी हिटी क्लब चाँगे ‘बी’ डिभिजनमा घटुवा भएका हुन्।