छविलाल पाण्डे
बुटवल, जेठ २६ गते । बुटवलको एक सहकारीले एक करोड रुपियाँ लगानीमा इभी फाष्टिङ चार्जर स्टेसन सञ्चालनमा ल्याएको छ ।
बुटवल सुख्खानगरमा रहेको इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नै कार्यालय भवन परिसरमा अत्याधुनिक मेसिन जडित ‘फाष्ट चार्ज’सहितको चार्जिङ स्टेसन शुक्रबारदेखि सञ्चालनमा ल्याएको हो ।
नेपाल विद्युत प्राधिकरणको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको स्टेसनमा मानवरहित सेवा उपलब्ध गराइने र सेवाग्राहीले अनलाइनबाटै भुक्तानी गर्न सक्ने सहकारीले जनाएको छ ।
स्टेसनमा ६० किलोवाट क्षमताको सीसीएस–२ डबल गनको एउटा मेशिन तथा ६० किलोवाटकै जीबीटी डबल गनसहितका दुईवटा मेसिन जडान भएको छ । करिब १ करोड लगानीमा सञ्चालनमा ल्याइएको स्टेसनमा एकैसाथ ६ वटा सवारीलाई चार्ज गर्न सकिने छ ।
स्टशेनबाट चार्जमा लगाएका सवारी आधा घण्टादेखि १ घण्टाभित्रमा फूल चार्ज हुने सहकारीले जनाएको छ ।
यसैबिच स्टेसनमा सेवा लिनका लागि बुटवल–गुल्मी सञ्चालन हुँदै आएका आँगन सेवा यातायात प्रालिका १५ वटा सवारीका लागि सम्झौता भएको र सेवा लिन सुरु गरेको प्रालिका सञ्चालक सन्तोष कँडेलले जानकारी दिनुभयो ।
चार्जिङ स्टेसनको लुम्बिनी प्रदेश सहकारी मन्त्रालयका रजिष्ट्रार यमबहादुर कुँवरले शुक्रवार शुभारम्भ गर्नुभएको हो ।
उहाँले पछिल्लो समय पर्यावरणीय संरक्षणको हिसाबले पनि विद्युतीय सवारीको चाप बढेकाले तिनको सहजताका लागि स्थापना गरिएको चार्जिङ स्टेसनले सकारात्मक सन्देश दिएको बताउनुभयो ।
पूर्व–पश्चिम राजमार्गदेखि ५० मिटर उत्तर धर्मपथमा रहेको आफ्नै कार्यालय परिषरमा स्थापना गरिएको चार्जिङ स्टेसनबाट दैनिक ८० देखि ९० बढी सवारीका साधनलाई सेवा उपलब्ध गराउन सकिने सहकारीका सचिव नरबहादुर रजालीले जानकारी दिनुभयो ।