रवीन्द्र उप्रेती
बर्दीबास, जेठ २६ गते । खानेपानीको अभाव झेल्दै आएको बर्दिबास ८ हात्तीलेटमा ओभरहेड ट्याङ्क निर्माण भएपछि गाउँलेको तिर्खा मेटिने अपेक्षा जागेको छ । सङ्घीय सरकारको तराई मधेश खानेपानी योजनाअन्तर्गत एक करोड ५० लाख अनुदान सहयोगमा ओभरहेड ट्याङ्क निर्माण भएपछि गाउँमा पानीको आपूर्ति सहज हुने भएको हो ।
ओभरहेड, कार्यालय भवन, कम्पाउण वाल र बोरिङ जडान जस्ता आधारभूत कार्य सम्पन्न भई सकेकाले नगरपालिकाको सहयोगमा गाउँमा पाइपलाइन बिछ्याउने र धारा जडान गर्ने काम भइरहेको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।
नगरप्रमुख प्रह्लाद क्षेत्रीले पाइपलाइन विस्तारको शनिबार अनुगमन गर्नुहुँदै खानेपानीको बढ्दो समस्यालाई सम्बोधन गर्न योजनाबद्ध ढङ्गमा संरचना निर्माण अघि बढाइएको बताउनुभयो ।
गर्मी बढेसँगै पानीका मुहानहरू सुक्दै गएको बेला बर्दिबास नगरप्रमुख प्रह्लाद क्षेत्रीले खानेपानीको आपूर्ति सहज र व्यवस्थित बनाउन नगरपालिका योजनाबद्ध ढङ्गमा अघि बढेको बताउनुभयो ।
उहाँले नगरपालिकाको ‘एक घर एक धारा’ को नारालाई मूर्तरूप दिन खाने पानी कार्यक्रमलाई ग्रामीण भेगसम्म विस्तार गरेको दाबी गर्नुभयो ।
खानेपानीको चरम अभाव रहेको हात्तीलेटका ५०० घरधुरीका लागि प्रदेश सरकारको अनुदानमा नगरपालिकाले खानपानी विस्तारको काम अघि बढाएको हो । सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता समितका अध्यक्ष हरि रानाकाअनुसार तत्काल ३५० परिवारमा असार दोस्रो सातासम्म पानी वितरण गरी सक्ने गरी काम भइरहेको छ । यसका लागि प्रमुख र शाखा गरी साढे ४ किलोमिटर पाइपलाइन विस्तार गर्ने काम सम्पन्न भइसकेको छ । विधुत तथा धारा जडानको कामलाई प्राथमिकतासाथ अघि बढाइएको छ । बाकी रहेका घरमा पनि छिट्टै पानी वितरण गरिने उहाँले जनाउनुभयो ।
धारा जडानपछि वडाका साढे दुई हजार जनताको तिर्खा मेट्न सहज हुने वडाध्यक्ष शमशेर सिंह लामाले बताउनुभयो । यस भेगको भू जलस्तर घट्दै गएकाले गाउँभरका इनार र डीप बोरिङ पनि सुकेपछि हात्तीलेटवासीले खानेपानीको समस्या झेल्दै आएका छन् । प्रदेश र नगरको सहयोगमा ५० घनमिटर क्षमताको ओभरहेड ट्याङ निर्माणपछि गाउँलेको तिर्खा मेटिने अपेक्षा जागेको वडाध्यक्ष लामाले बताउनुभयो ।
लामो समयदेखि गाउँको प्रमुख समस्या बनेको खानेपानीको आपूर्ति सहज हुने भएपछि महिलाहरू सबैभन्दा बढी खुसी भएका छन् । पानीको सतह तल झरेपछि अहिले करिब ७० फिटमुनिको इनारबाट पालो पर्खेर पानी भर्नुपर्ने समस्या छ ।