• ७ मंसिर २०८१, शुक्रबार

संस्कार

blog

मेरा बा सधैँ मलाई भनिरहनुहुन्थ्यो– बाबु निरन्तर कर्म गर्नु, सही बाटोमा हिँड्नु, कसैको नबिगार्नु, नडराउनु । लोकको भलाइ हुने काम गर्नु । अल्छी हुनु भनेको आफ्नै भाग्य हर्नु हो । कर्मशील हुनु भनेको भाग्य चम्काउनु हो । बाले भन्नुभएका यी अमृतवचनको छाप मलाई सानै उमेरदेखि प¥यो । मेरा बाको दौराको फेर समातेर उठ्न खोज्दा या बाको हात समातेर ताते ताते गर्न खोज्दादेखि नै केही गर्नु पर्छ भन्ने अठोट र हिम्मतको भ्रूण छातीभित्र अङ्कुराइसकेको हुनु पर्छ । त्यही भएर होला सायद सानो छँदा भविष्यमा जे बन्छु भनेर सङ्कल्प गरेको थिएँ, आज म त्यही बनेँ । पर्यटन क्षेत्रमा जोडमेल गरेँ । पसिना पोखेँ । काँडाहरू पन्छाएर फूल रोपेँ । हेर्नलाई पर्यटक बोलाएँ । देशको सेवा गरेँ । त्यसको निम्ति उमेरको आधा शताब्दी गुजारिसकेँ । यति लामो जीवनयात्रामा म आफ्नो उद्देश्यप्रति रत्तिभर विचलित भइनँ । यो तागत मेरा बाको अमृतवचन शिरोधार्य गर्दाको परिणाम हो । मेरा बाका अमृत वचन आज पनि मिठो ध्वनि भएर कानमा गुन्जिरहन्छन् । सन्तानका लागि पहिलो शिक्षक बाआमा हुन् । पहिलो पाठशाला आफ्नै घर हो । मेरो पहिलो पाठशालामा मैले असल संस्कार सिक्ने मौका पाएँ । बिहान घाम झुल्कनुअघि उठ्नु र बेलुका चाँडै सुत्नु, समयमै खाना खानु, नियमित स्कुल जानु, घरमा सकेको काम गर्नु, गाउँ नडुल्नु, आफूभन्दा ठुलालाई आदर गर्नु, सानालाई माया गर्नु, लोभ नगर्नु, अरूलाई दया गर्नु भन्ने मेरा बाको आदेश हुन्थ्यो । बाको आदेशलाई मैले इमानदारीपूर्वक पालना गरेँ । बहुमूल्य संस्कारका रूपमा स्विकार्दै आफूलाई समर्पित गरेँ । त्यसैले मेरो निरन्तर कर्मले बदलेको मेरो अवस्था मेरो बाले सिकाउनुभएको संस्कारको उपज हो । बालापनमा हिम्मतका साथ बाको दौरा समातेर उठ्न खोज्दाको नतिजा हो । स्वदेशमै सुन फलाउनु पर्छ भन्ने मेरो मान्यता माटो पोतिएका मेरा किसानी बाका औँलाहरू समातेर ताते ताते गर्दाको परिणाम हो । अतः मेरा बाले सिकाउनुभएको संस्कार मेरो सफलताको धरातल हो । मेरो समग्र जीवनको मार्गनिर्देशन हो । 

मेरा बाको प्रेम र प्रेरणाबाट विद्यार्थी जीवनदेखि नै मेरो सोचमा बदलाव आयो । आमाको आँसु देखेर नराम्रा क्रियाकलाप चटक्कै छोड्ने हिम्मत आयो । व्यवहार र चेतनाले साथीहरूभन्दा भिन्न भएँ । सानै उमेरदेखि म आफ्नै देशमा केही गर्छु भनेर सपना देख्न थालेँ । उमेर बढ्दै गएपछि पाइला पाइलामा सम्भावना देखेर सङ्घर्ष गर्दै अगाडि बढिरहेँ । पछि युरोप र अमेरिकामा बस्दा पनि नेपालमै प्रशस्त सम्भावना देखेर फर्किएँ । त्यसपछि आफ्नै देशमा सम्भावनाभित्र सफलता खोज्न अहोरात्र मेहनत गर्दै गएँ । आज म आफ्नो व्यवसायमा खुसी हुन सक्ने सफलता मैले पाइसकेको छु । अब मलाई मानव सेवा गर्ने हुटहुटीबाहेक केही छैन । इमानदार भएर आफ्नो कर्ममा निरन्तर लागिरहनू भन्ने मेरा बाको निर्देशन मैले पूर्ण रूपमा पालना गरेको छु । आफ्नो छोरो परदेश नजाओस्, नेपालमै बसेर प्रगति गर्न सकोस् । लोकको सेवा गरोस् भन्ने बाआमाको सपना पूरा गर्दै छु । सपना पूरा गर्न हिँड्ने बाटो फुलैफूलको हुँदैन । न त मलिलो माटोमाथि कुनै मजदुरले नङ्ग्रा खियाएर बनाइदिएको हुन्छ । ता कि सफलता चुम्न सजिलै हिँड्न सकियोस् । सफलता चुम्न केवल असल संस्कारको बाटो हिँड्नु पर्छ । संस्कारको बाटोले शतप्रतिशत सफलतामा पु¥याउँछ । बाले सिकाउनुभएको संस्कारको बाटो म हिँडिरहेँ । म हिँडिरहेको बाटोमा ताते ताते गर्न मैले मेरा छोराहरूलाई निर्देशन गरेको छु । मैले बाको दौरा समातेर उठ्न खोज्दा बटुलेको साहस झैँ मेरा छोराहरूले मलाई छोएर उठ्न पाएनन् । ताते ताते गर्न मलाई छुन पाएनन् । तोतेबोलीमा बा भनेको विरलै सुन्न पाएँ । रहर अधुरो हुने गरी छातीमा टाँस्न पाएँ किनकि दुवै छोरा जन्मिँदा म टे«किङ गाइड बन्ने रहरमा सहर पसेको थिएँ । डाँडाकाँडा, नदीखोला, लहरापहरा, उकालीओरालीमा सम्भावना खोज्न भौँतारिइरहेको थिएँ । पर्यटक खोज्दै विमानस्थलमा सुस्केराहरू हालिरहेको थिएँ । त्यसैले सानो छँदा छोराहरूको कानमा मैले बाले झैँ अमृत वचन फुक्न पाइनँ तर बाले सिकाउनुभएको संस्कारको प्रतिविम्ब स्वयम् म आफैँ थिएँ । मेरो स्वभाव र गतिविधि असल संस्कारका उदाहरण थिए । त्यसैको प्रभाव मेरा छोराहरूमा पनि प¥यो । मैले मेरा छोराहरूलाई कहिल्यै गाली गर्नु परेन, पिट्नु परेन । काम गर्न अराउनु परेन, गल्ती गरेर सजाय दिनु परेन । समाजमा उनीहरूबारे नराम्रो सुन्न परेन । अरूको मन रुवाउन रुखो वचन बोलेनन् । लोभले कसैको वस्तुमाथि हात लम्काएनन् । कसैका छोरीचेलीमाथि आँखा चम्काएनन् । पाप र धर्म सत्य र असत्यको ख्याल दैनिक जीवनमा गरिरहे । बिहान सबेरै उठ्न, बेलुका सबेरै सुत्न, पढाइमा ध्यान दिन, घरको काम सघाउन उनीहरूलाई मेरी श्रीमतीले सिकाइन् । आफूभन्दा ठुलालाई आदर र सानालाई माया गर्ने बानी छोराहरूको सानैदेखि थियो । उनीहरूको बानीसँग म सन्तुष्ट थिएँ । खराब बानीको अनुसरण गर्दैनन् भन्ने कुरामा ढुक्क थिएँ । म हिँडेको बाटोमा मेरा सहयात्री हुने छन् भन्ने कुरामा आशावादी थिएँ ।  

मेरा बाले सिकाएको संस्कारले मेरो जीवनयात्रालाई जति सरल बनाएको छ, मैले पनि मेरा दुवै छोरालाई त्यही बाटो हिँड्न प्रेरित गरेको छु । मेरा दुवै छोरालाई मैले जुन व्यवसाय गर्दै आएको छु, त्यसैलाई निरन्तरता दिन लगाएको छु । समय र परिस्थिति फेरिएको छ । मानिसका आकाङ्क्षा र आवश्यकता फेरिएका छन् । नयाँ पुस्ताको चेतना विकसित भएको छ । उनीहरूको संस्कारमा पनि बदलाव आएको छ । हाम्रा पुर्खाले हामीलाई खेतबारी बाँझो नराख्नू, वस्तुभाउले गोठ भर्नू, माटोमा पसिना पोख्नू, हिँडेर काम गर्नू भनेर संस्कार सिकाउँथे तर नयाँ पुस्ताले सिक्नुपर्ने संस्कार बदलिएको छ । विश्व प्रविधिमैत्री भएको छ । श्रम पाखुराले मात्र गरिँदैन, मस्तिष्कसँगै प्रविधिले पनि गरिन्छ भन्ने आधुनिकतामा नयाँ पुस्ता आइपुगेको छ । भविष्यको चिन्ताले नयाँ पुस्ता ग्रसित छ । आफ्नै देशमा भविष्य देख्न नसक्ने रोगबाट उनीहरू पीडित छन् । यसरी नयाँ पुस्ता मानसिक विचलनको सिकार हुनुमा उनीहरूको संस्कार दोषी हो । कस्तो संस्कारबाट उनीहरू गुज्रिरहेका छन् या अभिभावकले कस्तो संस्कार सिकाएका छन् भन्ने कुरा मुख्य हुन्छ । मैले नयाँ पुस्ताको भविष्य नेपालमै देख्ने संस्कार बसालेको छु । नयाँ पुस्ताको भविष्य नेपालमा नदेखेको भए मेरा छोराहरूलाई म अमेरिका पठाइसक्थेँ । छोराका साथीहरू प्रायः विदेश गइसके तर मभित्र उनीहरूलाई पलायन गराउने सोच कहिल्यै आएन । देशभक्तिभन्दा महान् सोच अरू केही हुँदैन । त्यसकारण मैले छोराहरूलाई देशभक्तिको संस्कार सिकाएँ । पौरख गर्ने कला सिकाएँ । उनीहरूभित्र आफ्नै देशको सेवा गर्ने भावना पैदा गराएँ । अहिले मेरा छोराहरू विदेश पलायन हुने कुरा रत्तिभर सोच्दैनन् । अरूलाई पनि पलायन नहुन सल्लाह दिन्छन् । अहिले उनीहरू नेपालमा जताततै सम्भावना देख्छन् । त्यही अनुसार परिश्रम गर्ने भएका छन् । उनीहरूलाई निरन्तर कर्म गर्ने बानी परेको छ । 

मानव समुदायको विकास भनेकै हाम्रा सन्तानलाई अगाडि बढ्न सहज बनाउने हाम्रा क्रियाकलाप हुन् । तपाईं के बन्दै हुनुहुन्छ र भोलि के बन्नुहुने छ या भोलि तपाईंका सन्तान के बन्ने छन् भन्ने तपाईंको सोच र चेतनालाई निर्देशन गर्ने तपाईंको बानी व्यवहारले निर्धारण गर्छ । म असल मानिस बनेर समाजमा चिनिन चाहन्थेँ । त्यसका निम्ति मैले गरेका हरेक कामले समाजलाई फाइदा होस् र नयाँ पुस्तालाई प्रेरणा मिलोस् भन्ने चाहन्थेँ । नयाँ पुस्ता मबाट प्रेरित बन्न सकून् भनेर म अमेरिकाबाट फर्किएँ । मैले अरूलाई बदल्न सुरु आफैँबाट गरेँ । सबै मानिस खुसी भएर जिउन् सकून् भन्ने मेरो चाहना छ । त्यसकारण मैले म र मेरा सन्तानभन्दा बढी असल र खुसी समाजको कल्पना गरेको छु । म गर्वसँग भन्छु, मैले कल्पना गरेको असल समाज निर्माण गर्न मेरा दुवै छोरा सत्कर्म र सत्मार्गमा लम्किरहेका छन् । चम्किरहेका छन् । 

पछिल्लो समय युवामा निराशाको मानसिकता छ । आफ्नै देशमा जोश, जाँगर र श्रम गर्ने चाहना छैन । व्यवसाय सुरु गर्न इच्छाशक्ति छैन । अनुकरणीय काम गर्न प्रेरणा छैन । नैतिक शिक्षाको पाठशाला छैन । म भन्छु, आमा फेर्न मिल्दैन । सुधार्न त अवश्य सकिन्छ । त्यसका लागि इमानदार हुनु पर्छ । कुनै व्यक्ति इमानदार भएर आफ्नो कर्ममा लाग्यो भने ऊ मात्र सफल हुँदैन, समाज र देशलाई पनि सभ्य र समृद्ध बनाएर अगाडि बढाउन सक्छ । त्यति मात्र होइन, कुनै दिन मुलुकको बागडोर समालेर अगाडि बढाउन सक्छ । त्यसकारण सबै चामत्कारिक कर्मको जग नै इमानदारिता हो । अनुशासन हो । आत्मबल र आत्मविश्वास हो । कामप्रतिको लगाव हो । 

हाम्रो देशमा सबथोक छ । सुनको देशमा बसेर हामी सुनको थालमा भिख माग्छौँ । हामीले कसैसँग माग्नु पर्दैन । यहाँ जे काम गरे पनि पैसा आउँछ । हिमाल देखाउँदा पनि पैसा आउँछ । झारपात र किराफट्याङ्ग्रा देखाए पनि पैसा आउँछ । पानी बेचे पनि पैसा आउँछ । विदेशीलाई घुमाए पनि पैसा आउँछ । हाम्रो देशमा जताततै पैसा छ । त्यसकारण मेरो पहिलो सपना भनेकै पर्यटनको विकास हो । पर्यटनको विकासले सबै क्षेत्रको विकासको ढोका खोल्छ । आर्थिक आधार तयार पार्छ । आर्थिक रूपमा मुलुक बलियो बन्यो भने देशमा अरू विकासका आधारहरू पनि बलिया हुन्छन् । मुलुकलाई समृद्ध बनाउने धेरै प्राकृतिक स्रोतसाधान हाम्रै देशमा छन् तर तिनको उचित व्यवस्थापन र परिचालन गर्न हामीसँग सोचको कमी छ । हामीले नयाँ पुस्तालाई सङ्कल्प र सपनासहितको योजना बनाएर स्वदेशमै पौरख गर्न संस्कार सिकाऔँ ।  

Author

रामप्रसाद सापकोटा