• ७ मंसिर २०८१, शुक्रबार

मिथिलाञ्चलमा आँप संस्कृति

blog

सम्पूर्ण मिथिलाञ्चलमा फलफूल पर्याप्त मात्रामा पाइन्छ । कुनै यस्तो फलफूल नहोस् जुन यहाँ पाइँदैन । फलफूलको भण्डार नै यहाँ सहज रूपमा उपलब्ध छ । फलको राजा आँप त यहाँको मुख्य उत्पादन नै हो । सम्पूर्ण तराई मधेशमा फलफूलको कुनै अभाव छैन । आँप उत्पादनका लागि यो भूमि उर्वर मानिन्छ । यसका लागि मौसम पनि सर्वथा उपयुक्त नै भन्न सकिन्छ । सुगन्धित र सुस्वादिष्ट फल आँप भएकाले नै यसलाई फलको राजाको नामबाट विभूषित गरिएको छ ।

संसारभरि आँप नै यस्तो रसदार फल हो जुन गर्मी हुने देशहरूमा सबैभन्दा लोकप्रिय मानिन्छ । सम्पूर्ण मिथिलाञ्चलमा सदियौँदेखि यसको उत्पादन हुँदै आएको छ । प्राचीन समयमा पनि यसको उत्पादनको पौराणिक प्रमाण पाइन्छ । भनिन्छ, सर्वप्रथम आँपको उत्पत्ति वर्मा (म्यानमार) र छिमेकी मुलुक भारतको अन्डमान द्वीपमा भएको हो । के पनि भनिन्छ भने पाँचौँ शताब्दी इसापूर्वमा बौद्ध भिक्षुले आफ्नो साथमा आँप मलेसियामा लगेका थिए । छिमेकी मुलुक भारतमा सर्वाधिक आँप उत्पादन हुन्छ । त्यसपछि छिमेकी मुलुक चीनमा हुन्छ । भारत र चीन आँप उत्पादनका लागि विश्वभर प्रसिद्ध मानिन्छ । पाकिस्तानमा पनि आँप उत्पादन राम्रो मात्रामा हुन्छ । भारत र पाकिस्तानबिच पारस्परिक सम्बन्ध धेरै राम्रो नभए पनि दुवै देशका राष्ट्रपति आँप आदानप्रदान गरेर मित्रताको गाँठो गाढा बनाउन सक्रिय र सजग रहन्छन् ।  

मिथिलाञ्चलामा त आँपको कोसेली कसिलो सम्बन्धको प्रतीक नै मानिन्छ । विवाह, व्रतबन्ध तथा मधुश्रावणी आदि लोकपर्वका अवसरमा यसको आदानप्रदान आल्हादकारी मानिन्छ । चौठचन्द्र लोकपर्वका अवसरमा त इष्टमित्रलाई निमन्त्रणा गरेर आँप र पुरी स्वरुचि अनुसार खुवाउने परम्परा अझै जीवित छ । मिथिलाञ्चलका गाउँ गाउँमा आँपका बगैँचा छन् । प्राचीनकालमा मानिसहरू धर्म कमाउन पनि आँपको बगैँचा लगाउने गर्थे । गाउँलेहरू आँपको बगैँचामा गएर मनभरि र पेटभरि आँप खाने गर्थे । अहिले यो प्रशंसनीय परम्परा लुप्त हुँदै गएको छ । अचेल नयाँ बगैँचा लगाउने परम्परा दिनानुदिन ह्रास हुँदै गएको छ । 

बगैँचामा आगन्तुक गएपछि आँपको आतिथ्यले नै स्वागत सत्कार गर्ने परम्परा ‘कमोनेस’ अद्यापि जीवित छ । यस आतिथ्यमा आत्मीयता पाइन्छ । यसबाट पारस्परिक भाइचाराको सम्बन्ध सुदृढ हुन्छ । अचेल आँप सीमित क्षेत्रमा घरवरिपरि लगाउने गरिन्छ । पहिला पहिला गाउँबाट धेरै टाढा ‘सरेह’ मा बगैँचा लगाउने गरिन्थ्यो र रखरखाव पनि सजिलो हुन्थ्यो । अचेल गाउँ नै असुरक्षित ठानिने भएकाले गाउँबाट टाढा ‘सरेह’ मा आँप लगाउनु सुरक्षित मानिँदैन । सबैभन्दा ठुलो समस्या रखवालीको हो । अतः यसको उत्पादनमा पनि क्रमशः ह्रास हुन थालेको पाइन्छ । मिथिलाञ्चलभरिमा सिराहा जिल्ला आँपका लागि प्रसिद्ध मानिन्छ । यहाँ अभैm पनि प्रशस्त मात्रामा आँप लगाइएको पाइन्छ । मिथिलाञ्चलको प्राचीन राजधानी र अचेल मधेश प्रदेशको राजधानी जनकपुरमा ‘तिरहुतिया गाछी’ र मणिमण्डप आँपको प्रसिद्ध बगैँचा मानिन्थ्यो । तिरहुतिया गाछी त सहरभित्र अवस्थित भएकाले यसको अस्तित्व नै हराइसकेको छ । आँपको बगैँचा प्राचीन सम्पदामा महत्वपूर्ण मानिन्छ । गर्मीयाममा दिउँसो मानिसहरू यहाँ आराम गरी प्रशस्त अक्सिजन लिने गर्छन् । 

मित्रराष्ट्र थाइल्यान्डका पूर्वराजा भूमिबल अब्दुल्यादेजले त जनकपुरस्थित दुई आँपका रुख पत्ता लगाउन आफ्नी राजकुमारीलाई नै पठाएका थिए । उनले आफ्नो पुस्तक ‘महाजनकको कथा’ मा यो प्रसङ्ग उल्लेख गरेका छन् । महात्मा गौतम बुद्धले जनकपुर प्रवासकालमा तिरहुतिया गाछीमै आश्रय लिएका थिए । प्रत्येक रुखबिरुवासँग उनको अटुट, अनन्य र अप्रतिम सम्बन्ध थियो । विशेष गरेर आँपको रुख उनलाई खुब मन पथ्र्यो । आँप अत्यन्त शुद्ध मानिन्छ । यसको फल मात्रै होइन, पात पनि पवित्र मानिन्छ । यसको जरा र डाँठ पनि शुद्ध मानिन्छ । प्रत्येक यज्ञादिमा आँपको कलश राखिने लामो परम्परा छ र अद्यापि मिथिलाञ्चलमा कुनै यज्ञ जप हुँदा आँपको कलश राखिन्छ । यसबाट वातावरण शुद्ध भई पर्यावरण पनि प्रदूषित हुनबाट जोगिन्छ । 

आँपका विभिन्न नाम  

सेनरिया (सिन्दूर रङको), दसहरी, चौसा, लखनउआ, मालदह, बम्बइया, लटकामपुर, सकेरा, नकुअवा, जर्दा, सुकुल, सिपिया, केरबा, कोदइया, लडुअवा, बरमासिया र लङ्गडा । लङ्गडा आँपको अनुवाद विश्वको कुनै पनि भाषामा हुन सक्दैन । रसपुरी, नीलम, मालिका आदि प्रमुख छन् । आँपबाट विभिन्न किसिमका खाद्य पदार्थ बनाइन्छ । पाकेको आँपबाट अमरस बनाइन्छ जुन आँपको समय समाप्त भएपछि खानामा प्रयोग गरिन्छ । आँपको अचार त सबै अचारभन्दा मिठो मानिन्छ । आँपको खट्टाइ र चटनी त झन् चर्चित छ । मित्रराष्ट्रमा आँपबाट ‘आँम श्रीखण्ड’ बनाइन्छ जुन अत्यन्त स्वादिष्ट मानिन्छ । आँपको मुरब्बा मिठो हुन्छ । आलसको तेलमा पकाइएको आँपको तरकारी अत्यन्त स्वादिष्ट हुन्छ । अचेल आँपको जुसका साथै यसको सस पनि तयार गरिन्छ । स्वाद बढाउन चामलको बिरयानीमा पनि आँप प्रयोग गरिन्छ । आँपको पराठा पनि अचेल प्रचलित छ । विश्वका विभिन्न देशमा आँपको प्रयोग आफ्नो स्वाद र सन्तुष्टिका लागि गर्ने गरिन्छ । स्यान्डविच र बे्रडको साथमा पनि पाकेको आँपको स्लाइस खाने प्रचलन बढ्दै गएको छ । पाँचतारे होटलमा आँपको स्पेसल आइटम उच्चदरमा खुवाउने गरिन्छ । काठमाडौँमा आयोजित पार्टीमा आँपको टुकडा अरू आइटमका साथ प्रयोग गरिन्छ र यसलाई चम्चाबाट खाने गरिन्छ । आँप पूरा खानाका रूपमा खाने प्रचलन पनि छ । आँपको मौसम जेठदेखि भदौसम्म रहन्छ । भदौमा पाक्ने आँपलाई ‘भदैया’ भनिन्छ भने बाह्रै महिना फल्ने आँपलाई ‘बरमसिया’ भनिन्छ । 

स्वास्थ्यका लागि आँप  

आँप स्वास्थ्यवर्धक हुन्छ । यसमा लौह तत्व र विभिन्न भिटामिन सहज र सरल ढङ्गमा उपलब्ध भएको हुन्छ । रक्तहीनताको स्थितिमा रक्तपूर्तिका लागि यसको प्रयोग गरिन्छ । यसमा पौष्टिक तìव भरपूर मात्रामा पाइन्छ । गर्भवती महिलाका लागि रक्तपूर्तिको सर्वोत्तम साधन हो आँप । यसले कतिपय रोगसित लड्ने क्षमता प्रदान गर्छ । यसले भोक पनि बढाउने गर्छ । चर्मरोगमा पनि उपयोगी आँपले अनुहार चम्किलो बनाई छाला कोमल बनाउँछ । यसमा उपलब्ध ‘सेलेनियम’ हृदयरोगमा फाइदाजनक मानिन्छ । आँप खानाले आँखाको रोशनी पनि बढ्ने गर्छ ।