जनार्जन खत्री
सर्लाही, जेठ २५ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले सर्लाहीका नागरिकले अब आफ्नै घरमा खाना खाएर काठमाडौँमा रहेको कार्यालय भ्याउने दिन चाँडै आउने बताउनुभएको छ ।
सर्लाहीको लालबन्दीमा शुक्रबार राष्ट्रिय स्तरको कराँते प्रतियोगिता उद्घाटन गर्नुहुँदै मन्त्री उप्रेतीले काठमाडौँ–तराईं मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को काम पूरा हुने बित्तिकै त्यो दिन चाँडै आउने बताउनुभएको हो । “हामीलाई अब काठमाडौँमै घर चाँहिदैन, लालबन्दीमै बसेर काठमाडौँको ‘अफिस’ भ्याउन सक्ने दिन आउँदै छ,” रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “यही योजनाका साथ फास्ट ट्रयाकको काम तीव्रताका साथ सम्पन्न गर्न लागिपरेका छौँ ।”
उहाँले सकेसम्म यही सरकारको पालामा फास्ट ट्रयाक निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो । फास्ट ट्रयाक, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, सुनकोशी–मरिण डाइभर्सनसहितका राष्ट्रिय आयोजनाका काम सम्पन्न हुने बित्तिकै मधेशमा कायापलट हुने रक्षामन्त्री उप्रेतीको दाबी छ ।
उहाँले हुनुपर्ने समयमा देशमा विकास र समृद्धि प्राप्त हुन नसक्नु दुःखको कुरा भएको भन्दै अब नेता, कर्मचारीसहित सबैपक्ष इमान्दार बन्ने हो भने भावी पुस्ताले २०/३० हजार रुपियाँको लागि ५०/५५ डिग्रीको तापक्रममा काम गर्न जानु नपर्ने बताउनुभयो ।