• १२ साउन २०८१, शनिबार

शीतल गुफा ओझेलमा

blog

तस्बिर:रासस

लेखनाथ (कास्की), जेठ २४ गते । प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनिले तपस्या गरेको तिहासिक स्थल शीतल गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गरी प्रचारप्रसार गर्न स्थानीयवासीले माग गरेका छन् । 

कास्कीको अन्नपूर्ण गाउँपालिका-५ सल्यानस्थित झोवाङमा अवस्थित शीलत गुफाले तिहासिक महत्व राखे पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको गुनासो स्थानीयवासीको छ । तिहासिक शीतल गुफालाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्यले अन्नपूर्ण गाउँपालिका र ट्रेकिङ्ग एजेन्सिज एसाेसिएसन अफ नेपाल (टान) गण्डकीद्वारा बुधबार गुफा परिसरमा गरिएको अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले त्यस्तो गुनासो गरेका हुन् । 

बैज्ञ नामका ऋषिमुनि बस्ने ओढारको नामले परिचित एक सय मिटर लम्बाइ रहेको उक्त शीतल गुफा अवलोकनका गर्न दैनिक स्वदेशी तथा विदेशी पर्यटक आउने गरे पनि प्रचार प्रसारको अभावमा प्रयाप्त मात्रामा पयर्टक आउन नसकेको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका संस्थापक अध्यक्ष सदाखर पौडेलले बताउनुभयो । समुद्र सतहदेखि एक हजार एक सय मिटर उचाइमा अवस्थित यस गुफामा पोखरादेखि ४० किलोमिटरको दूरीमा रहेको र यातायातको साधनबाट सजिलै गुफा पुग्न सकिन्छ ।

गुफामा बालाचतुर्दशी, शिवरात्रि र साउनमा पर्ने बोलबममा भक्तजनको घुइँचो लाग्ने जानकारी संस्थापक अध्यक्ष पौडेलले दिनुभयो । परापूर्वकालमा ऋषिमुनिहरु हिमालय पर्वतमाला गई तपस्या गरी ज्ञान प्राप्त गर्ने क्रममा बैज्ञनामका ऋषिमुनि उक्त गुफामा बसेर विभिन्न महामारी रोगको जडीबुटी बैद्यविधिबाट आयुर्वेदिक उपचार गर्ने गरेको कुरा जनश्रुतिमा पाइएको जानकारी पौडेलले दिनुभयो । गुफाभित्र भेटिएका अनाज, तामाका गाग्री, तामा पाथी, पित्तलका थाल लगायतका भाँडावर्तन अझै छन् । 

वि.सं.२०३७ देखि ओढारलाई गुफाको रुप दिई प्रचारप्रसार गर्दै आइएको छ । उक्त ओढारललाई स्थानीयवासी तथा शिक्षक केदारनाथ शर्माले शीतल गुफाको नामले परिचित गराउनुभएको थियो । करिब पाँच रोपनी क्षेत्रफलमा फैलिएको उक्त शीतल गुफालाई व्यवस्थित धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर क्षेत्रीले व्यक्त गर्नुभयो । गुफा क्षेत्रको भौतिक विकास तथा संरक्षणका लागि पछिल्लो पाँच वर्षमा सरकारी तथा निजी क्षेत्रबाट दुई करोड खर्च भइसकेको जानकारी अध्यक्ष केसीले दिनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको प्रमुख पर्यटकीय धरोहर मानिँदै आएको उक्त गुफालाई धार्मिक पर्यटकीय रुपमा विकास गर्न आफूले यसै आर्थिक वर्षमा बजेट छुट्याउने जानकारी अध्यक्ष केसीले दिनुभयो । गुफाको अध्ययन अवलोकन गर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका यातायातका साधनलाई व्यवस्थित पार्किङ स्थल, ढुङ्गाका चट्टानमा सिसाको पुल, पर्यटकका लागि प्रतीक्षालय, गुफामा जानका लागि व्यवस्थित ढुङ्गाका सिँढी र गुफाभित्रको भागलाई संरक्षण गर्ने काम गर्ने प्रतिबद्धता केसीले व्यक्त गर्नुभयो ।

शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष प्रमोदकुमार पोखरेलले गुफाको चौतफी विकास गर्न गुफा परिसर्मा १०८ पिपल वृक्षको वृक्षरोपण, एक सय आठ शालिग्राम व्यस्थापन, हिमालय कैलाश पर्वतको स्वरुप निर्माण, गुरुकुल शिक्षालयको स्थापना, ज्येष्ठ नागरिक केन्द्र, वृद्धाश्रम निर्माण, पिङ, उद्यन, वाटिका निर्माण, साहसी खेल रक क्लाइम्बिङ खेलको लागि गन्तव्य निर्माण, अन्नपूर्ण पौवा निर्माण, सङ्ग्रहालय स्थापनाका साथै गाउँमा होमस्टे (घरबास) को विकास गर्ने छ । 

गण्डकी प्रदेशको पर्यटकीय धार्मिक स्थल मुक्तिनाथ मन्दिर, म्याग्दीको घोडेपानी, कास्कीको घान्द्रुक र वीरेठाँटी, र पर्वतको पर्यटकीय गाउँ चित्रे जाने बाटोको उद्गमस्थलमा अवस्थित शीतल गुफालाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गर्न जरुरी  रहेको भनाइ अध्यक्ष पोखरेलको छ । एक सय आठ धारा, गणेश मन्दिर, शिव मन्दिर अन्य मठमन्दिरको दर्शन गर्दै गुफा प्रवेश गर्न सकिन्छ । दुईतले उक्त गुफाभित्र पानीका छहरा, विभिन्न देवीदेवताका अवतारको आकृति, वाद्यवादन, गौमाता , बूढानीलकण्ठको शयन दृश्य, रामलक्ष्मण वनबास दृश्य, विघ्नहर्ता गणेश भगवानस्वरुप, चमेराको वासस्थान गुफाभित्र देख्न सकिन्छ । रासस