• १३ साउन २०८१, आइतबार

उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौंः प्रमुख सचेतक परियार

blog

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बजेटसम्बन्धी छलफलमा आफ्नो मन्तव्य राख्दै सांसद् सन्तोष परियार । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ, जेठ २३ गते । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

बुधबार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको हो ।

मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाइ थियो । उहाँले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताउनुभयो ।

‘‘सङ्घीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकी छ । नागरिक अधिकार, मानव अधिकार र सास्कृतिक अधिकारहरु बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकि छ । बजेटमा संस्कृतिलाई सम्बर्द्धन गर्ने कुरा गरिएको छ । मलाई लाग्छ–सकिन्छ भने काठमाडौँ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौँ उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गरौं ।,’’ प्रमुख सचेतक परियारले भन्नुभयो, ‘‘र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौं । किनभने शहरहरु विभिन्न किसिमका हुन्छन् । अब हामीले आधुनिक विकासमा जाने हो भने शहरहरुलाई शैक्षिक सहर, सांस्कृतिक शहर, विकसित शहर, आर्थिक सहरको रुपमा पनि घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । लामो सङ्घर्षबाट प्राप्त गरेको राजनीतिक व्यवस्था जसरी हामीसँग छ । त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अव हामीले विशेष गरी अर्थमा अर्थनीतिमा काम गर्नुपर्छ भन्ने लाग्छ ।’’

प्रमुख सचेतक परियारले सरकारले सङ्घीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकी  रहेको पनि बताउनुभयो ।