• १२ साउन २०८१, शनिबार

ब्याटिङमा सुधार गर्न आवश्यक : सोमपाल

blog

नेदरल्यान्ड्सको क्याज लिने प्रयासमा सोमपाल कामी । तस्बिर : क्यान

अमेरिका (डालास), जेठ २४ गते । नेपाली टोलीका अनुभवी बलर सोमपाल कामीले सोचेको भन्दा कम स्कोर बनाउँदा हार खेपेको बताउनुभएको छ ।

आइसिसी टी–२० विश्वकपअन्तर्गत डालासस्थित ग्रान्ड पिएरे मैदानमा मङ्गलबार नेदल्यान्ड्ससँग ६ विकेटले पराजित भएपछि सोमपालले यस्तो धारणा राख्नुभएको हो । 

‘‘मौसम र सर्मथकको बलियो साथ पाएपनि हामीले जित निकाल्न सकनौँ । विश्वकप हो, जितेको भए सर्मथक अझै खुशी हुनुहुन्थ्यो । टी–२० क्रिकेटमा कहिले काँही यस्तै हुन्छ । आगामी खेलमा बलियो टोलीलाई हराएर देखाउने छौँ । आज थप ३० रन बनाउन सकेको भए नतिजा जे पनि हुनक्थ्यो । ब्याटिङमा सुधार गर्न आवश्यक छ,’’ सोमपालले भन्नुभयो ।

‘‘ओपनिङमा केही कमजोरी भयो । बलिङमा सबैले आफ्नो शतप्रतिशत नै दिएको हो । टसलाई लिएर धारणा बनाउन आवश्यक छैन । टस हारेपनि जितेपनि आखिर खेल्नै पर्ने हुन्छ । यस विश्वकपमा नेपालको उपस्थिति कमजोर छैन । कसैले बोलाएर आएको होइन । छनोट खेलबाट आएकोले हामी सबैलाई चुनौती दिन तयार छौँ । हामी गल्ती सुधार गर्दै सुपर आठमा पुग्ने लक्ष्यका साथ खेल्नेछौँ । आगामी खेलमा नेपाली समर्थकलाई निराश बनाउने छैनौँ,’’ उहाँले भन्नुभयो ।

सोमपालले १० वर्षपछि पनि दोहोर्याएर विश्वकप खेल्न पाउनु आफ्नो लागि सबैभन्दा खुशीको क्षणभएको बताउनुभयो । सोमपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप पनि खेल्नुभएको थियो । 

यस्तै करण केसीले सुरुवातमा सोचेजस्तो ब्याटिङ नहुँदा दबाब परेको बताउनुभयो । ‘‘नेदरल्यान्ड्सलाई रोक्न केही रन बढाउनु पर्नेथियो । तर आजको पिचले त्यति साथ दिएन । कमजोर स्कोर बन्दा बलिङमा च्याप्न सकिएन । केही क्याच पनि मिस भयो र हार खेपेका हौँ । अन्य खेलमा राम्रो गर्दै समर्थकलाई खुशी बनाउनेछौँ । नेपाली क्रिकेटलाई यहाँसम्म ल्याउने काम दर्शक र समर्थकले पनि गर्नुभएको छ । हामीले हरेक खेलमा सय प्रतिशत दिएर खेल्नेछौँ । आगामी खेलमा ठूला देशलाई हराउने हिसावले खेल्नेछौँ,’’ करणले भन्नुभयो ।

घरेलु मैदानमा जस्तै हजारौँ नेपाली समर्थकको साथ पाउनु ठूलो भाग्य भएको करणको भनाइ थियो । आइसिसीका अनुसार नेपाल र नेदरल्यान्डबिचको खेलमा ६ हजार आठ सय ४२ दर्शक उपस्थित थिए । जसमा ९८ प्रतिशत नेपाली समर्थकको उपस्थिति रहेको थियो ।

नेदरल्यान्ड्सका म्याक्स ओडाउडले जित त्यति सजिलो नभएको बताउनुभयो । ‘‘सानो स्कोर भएकोले विस्तारै लक्ष्य भेट्न सकिन्छ भन्ने थियो । तर, अन्तिममा त्यति सजिलो भएन,’’ म्याक्सले भन्नुभयो । नेपालविरुद्ध उहाँले अविजित ५४ रन बनाउनुभएको थियो । 

विश्वकपको ‘डी’ मा रहेको नेपालले दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ ।