राधाकृष्ण डुम्रे
वालिङ, जेठ २२ गते । स्याङ्जाका पालिकाले साना किसानलाई उद्यमशीलतामा जोड्न विभिन्न कार्यक्रम सुरु गरेका छन् । कृषि र पशुपालनको क्षेत्रमा नागरिकलाई आर्थिक रूपमा सबल बनाउँदै उद्यमशील बनाउन जिल्लाका पालिका योजनाबद्ध रूपमा लागेका हुन् ।
जिल्लाका वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाले हेफरसँगको सहकार्यमार्फत साना किसान, महिला, दलित, सीमान्तकृत समूहलाई आर्थिक रूपमा सबल बनाउने गरी काम गरिरहेका छन् ।
११ पालिका रहेको स्याङ्जामा अधिकांश पालिकाले विभिन्न सङ्घ संस्थासँगको सहकार्यलाई बढाउँदै लगेका छन् । कृषि, पशुपालन र फलफूल खेतीलाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेका हुन् । पछिल्लो समय युवाहरू बिदेसिने क्रम बढेको भन्दै गाउँमा नै राम्रो आम्दानी गर्न सक्ने आधार तय गर्न हेफरसँग सहकार्य गरिएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाणले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जस्तो पहाडी क्षेत्रमा आम्दानी बढाउने उपायको खोजी गर्न जरुरी देखेर हामीले विभिन्न सङ्घ संस्थासँगको सहकार्य सुरु गरेका हौँ ।”
नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर सङ्घ संस्थासँगको सहकार्यमा नागरिकलाई उद्यमी बनाउन लागिएको प्रमुख खाणको भनाइ छ । ‘भोकालाई एक छाक भोजन होइन, जीवन जिउने जुक्ति सिकाऊँ’ भन्ने अभियानका साथ विपन्न तथा न्यून आय भएका महिला तथा युवालक्षित कार्यक्रम सञ्चालन गरिँदै आएको गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले बताउनुभयो । पालिकालाई कृषि विकासमार्फत समृद्ध नगर बनाउने अभियानमा लागेको उहाँको भनाइ छ ।
महिलालाई आर्थिक रूपमा सक्षम बनाउने अभियानका साथ कृषि र पशुपालनका क्षेत्रमा नवीनतम काम सुरु गरिएको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासङ्घका महासचिव खिमबहादुर थापाले जानकारी दिनुभयो । नेपालमा नै काम गर्नु पर्छ भन्ने सोचमा परिवर्तन गराउन हेफरसँगको सहकार्य प्रभावकारी हुँदै गएको अध्यक्ष थापाको भनाइ छ ।
नेपालमा नै काम गर्ने र राम्रो आम्दानी गर्ने सम्भावना हुँदाहुँदै पनि सकारात्मक सोचको अभाव देखिएको भन्दै अध्यक्ष थापाले हेफरको सामाजिक पुँजी विकास र तालिमले राम्रो प्रभाव परेको बताउनुभयो ।
जिल्लाका तीन पालिकामा सञ्चालन हुने तीन परियोजनामा चार हजार २५० परिवार उद्यमशीलतामा प्रत्यक्ष रूपमा जोडिने पालिकाले जनाएका छन् ।
वालिङ नगरपालिकाका एक हजार छ सय, गल्याङ नगरपालिकाका एक हजार चार सय र कालीगण्डकी गाउँपालिकाका एक हजार २५० परिवार प्रत्यक्ष रूपमा जोडिन लागेका हेफर नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्वयुले जानकारी दिनुभयो । तीन पालिकामा सञ्चालन हुने साझेदारी कार्यक्रमका लागि १० करोड १४ लाख २८ हजार ५७१ लगानी हुने छ । जसमा ७० प्रतिशत पालिका र ३० प्रतिशत हेफर प्रोजेक्ट नेपालको आर्थिक सहकार्य हुने प्रबन्धक साम्वयुले बताउनुभयो ।
वालिङमा तीन करोड ५० लाख, गल्याङमा तीन करोड १४ लाख २८ हजार ५७१ र कालीगण्डकी गाउँपालिकामा तीन लाख पचास हजार बजेट रहेको छ । परियोजना सुरु भएको दुईदेखि तीन वर्षभित्रमा तोकिएका लक्ष्य पूरा गर्ने गरी काम सुरु भएको हेफर नेपालले जनाएको छ । कार्यक्रम अन्तर्गत विभिन्न बैङ्कहरूको सहकार्यमा झन्डै छ करोड सहुलियत कर्जाका लागि सहकार्य गरिने बताइएको छ ।