गोरखापत्र अनलाइन
काठमाडौं, जेठ २१ गते । नेकपा (एमाले) का सांसद तारा लामा तामाङले नेपाल सरकारले उखु किसानहरुलाई दिनुपर्ने भुक्तानी यथाशीघ्र प्रदान गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा सोमबार शुन्य समयमा बोल्नुहुँदै उहाँले सो माग गर्नुभएको हो ।
प्रतिक्विन्टल ७० रुपियाँका दरले उपलब्ध गराउँदै आएको उखुमा अनुदान रकम पनि भुक्तानी गर्न उहाँले माग गर्नुभयो । कञ्चनपुरका करिब ४ सय ४७ जना उखु किसानहरुको अनुदान रकम भुक्तान हुन बाँकी रहेको उहाँको भनाइ छ ।
आफू जनप्रतिनिधिको हैसियतले कञ्चनपुरका उखु कृषकको भुक्तानी रकम दिन माग गर्दै आए पनि सुनुवाई नभएको उहाँको गुनासो छ । "जनप्रतिनिधीको हैसियतले यस सदनमा र सम्बन्धित निकाय तथा मन्त्रालयमा भुक्तानीको लागि माग गर्दै आएकोमा हालसम्म अनुदान रकम भुक्तानी भएको नदेखिएकाले यथाशिघ्र उखु किसानहरुलाई अनुदान रकम उपलब्ध गर्न गराउन यस सदनमार्फत नेपाल सरकारसँग माग गर्दछु" उहाँले बैठकमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।