• १२ साउन २०८१, शनिबार

दीपेन्द्रको पुनरागमनले नेपाली टोलीमा उत्साह

blog

विश्वकपका लागि अभ्यास गर्दै दीपेन्द्रसिंह ऐरी । तस्बिर : क्यान

अमेरिका (डालास), जेठ २० गते । नेपाली क्रिकेट टोलीलाई मैदानमा जब सङ्कट पर्छ टोलीलाई उद्धार गर्ने काम अलराउन्डर दीपेन्द्रसिंह ऐरीको काँधमा आउँछ । 

नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल खेलाडी दीपेन्द्र पछिल्लो समय बायाँ खुट्टाको एङ्कलको चोटबाट ग्रसित बन्दै आउनुभएको थियो । 

विश्वकप छनोटकै दौरानमा घाइते हुनुभएका दीपेन्द्र टी–२० विश्वकप तयारीका लागि वेस्ट इन्डिज भ्रमणमा पुन: घाइते हुनुभयो । वेस्ट इन्डिजमा अभ्यास खेलको क्रममा दीपेन्द्रको पुरानै चोट बल्झिएपछि नेपाली टोलीलाई केही समय निरास बनायो । उहाँले विश्वकप अभ्यासका ६ खेलमध्ये चार खेल गुमाउनुभयो । 


विश्वकपअघि अमेरिकासँग तय भएको अन्तिम ‘वार्मअप’ खेल खेल्नका लागि टोलीमा पर्नुभएका दीपेन्द्रले त्यसदिन वर्षा बाधक बन्दा खेल्नु परेन । नेपाली टोलीमा सङ्कट मोचकको रुपमा रहँदै आउनुभएका दीपेन्द्र नेदरल्यान्ड्सविरुद्ध मङ्गलबार हुने विश्वकपको पहिलो खेलका लागि पूर्ण फिट भएको प्रशिक्षक मोन्टी देसाईले बताउनुभयो । 

‘‘पछिल्लो साता दीपेन्दले पहिलो खेलकै लागि केन्द्रित भएर टोलीसँग नियमित अभ्यास गरिरहेका छन् । अहिले खासै समस्या छैन । नेदरल्यान्ड्सँगविरुद्धको खेलमा दीपेन्द्रको भूमिका थप महत्वपूर्ण हुनेछ । उनको पुनरागमनले टोली उत्साहित बनेको छ,’’ प्रशिक्षक मोन्टीले भन्नुभयो । 

दीपेन्द्रको चोटले विश्कप अघि टोली र समर्थकलाई समेत निराश बनाएको थियो । आइसीसीको विश्व वरीयताको अलराउन्डर सूचीमा १०औँ स्थानमा रहनुभएका दीपेन्द्र हाल नेपाली टोलीमा उपलब्ध सबैभन्दा भरोसायोग्य खेलाडी हुनुहुन्छ ।

नेपाली टोलीको जित र हारमा उहाँको प्रदर्शन निर्णायक बन्दै आएको छ । २४ वर्षीय दीपेन्द्र रन जोड्ने मात्र होइन, ‘अफ स्पिनरका’ रूपमा स्पिन बलिङमा समेत पोख्त हुनुहुन्छ । नेपाली टोलीले ‘डेथ ओभर’ मा समेत उहाँबाट संकट टारेको विगत छ ।

 दीपेन्द्रको आगमनले अनिल शाह बाहिर रहनसक्ने सम्भावना छ । प्रशिक्षक मोन्टीले नेपाली टोली सबै किसिमले विश्वकप खेल्न तयार रहेको पनि बताउनुभयो । 

‘‘फरक देशमा विश्वकप हुने भएकोले पछिल्लो एक महिना सोही देशको वातावरणमा भिजेर अभ्यास गरिरहेका छौँ । एकाध खेलबाहेक ब्याटिङ र बलिङमा राम्रै सुधार भइरहेको छ । स्पिनरमा ललित राजवंशी र सागर ढकालले जिम्मेवारी सम्हाल्नेछन् । नेपाली टोली अहिले ब्यालेन्समा छ,’’ मोन्टीले भन्नुभयो । 

१० वर्षपछि विश्वकपमा फर्किएको नेपाली टोली नवौँ संस्करणको यस विश्वकपको समूह ‘डी’ मा छ । नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ । 

नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्नेछ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्नेछ । 

२० टोलीको सहभागिता रहेको विश्वकपमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूहका शीर्ष दुई टोली सुपर आठमा प्रवेश गर्नेछन् ।

नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा आयोजना भएको विश्वकप खेलेको थियो । त्यतिबेला नेपाल समूह चरणबाट बाहिरिएको थियो ।