दाङ, जेठ २० गते । चलचित्र पत्रकार सङ्घ दाङले पश्चिम दाङको शान्तिनगर-३ सुकेकोटमा शनिबार ‘पर्यटन प्रवर्द्धनका लागि चलचित्र बहस’ गरेको छ । बहसमा सहभागी नेपाली चलचित्रका अभिनेता निखिल उप्रेतीले चलचित्र नै पर्यटन प्रवर्द्धनको सशक्त माध्यम रहेको बताउनुभयो । “पर्यटन प्रवर्द्धनका लागि चलचित्र नै सबैभन्दा उत्तम र सबैको पहुँच पुग्ने माध्यम हो”, उहाँले भन्नुभयो ।
कुनै ठाउँको पर्यटनको विकासमा चलचित्र छायाङ्कनले सहयोग पुग्ने उहाँको धारणा थियो । नेपालमा धेरै राम्रा ठाउँमा चलचित्र छायाङ्कन गर्न सकिने भए पनि निर्माताहरूको ध्यान जान नसकेको उहाँले बताउनुभयो । “दाङमै पनि फिल्म छायाङ्कनका लागि राम्रा-राम्रा ठाउँ छन्,” उहाँले भन्नुभयो, “तर अहिलेसम्म त्यस्ता ठाउँमा फिल्म छायाङ्कन गर्न सकिएको छैन ।” नेपालको पहिचान, कला, संस्कृति, सभ्यतालाई चलचित्रमार्फत विश्वसामु चिनाउन सकेमा त्यसले पर्यटकको वृद्धि गर्ने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले आफ्नो पालिकामा सुकेकोट, छहरा, हारीचारलगायतका क्षेत्रमा चलचित्र छायाङ्कन गर्न सकिने पर्यटकीय स्थल रहेको जानकारी दिनुभयो । कार्यक्रममा संस्कृतिविद् डा. गोविन्द आचार्यले पर्यटकीय गन्तव्यहरूको प्रचार गर्न नसक्दा ती क्षेत्र ओझेलमा पर्ने गरेको बताउनुभयो । कार्यक्रममा दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले सबै पालिकाले आ-आफ्नो ठाउँको प्रचार गर्नुपर्ने बताउनुभयो । शान्तिनगर-३ सुइकोट पश्चिम दाङको शक्तिपीठका रूपमा प्रसिद्ध छ । उक्त मन्दिरमा नवदुर्गाको अष्टमीका दिन बलि चढाएमा मनोकाङ्क्षा पूरा हुने धार्मिक जनविश्वास छ । रासस