• १३ साउन २०८१, आइतबार

गोरखापत्रसँग हाम्रो सम्बन्ध प्रगाढ छ : प्रमुख खनाल

blog

राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनाल धारणा राख्नुहुँदै । तस्बिर : सागर बस्नेत

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ २० गते । राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देबेन्द्ररमण खनालले गोरखापत्र संस्थानसँग आफूहरूको सम्बन्ध विज्ञापनमा मात्र नभई विभिन्न आयाममा रहेको बताउनुभएको छ । 

गोरखापत्र परिसरमा राखिएको फोटो प्रदर्शनीको अवलोकनपछि उहाँले गोरखापत्रसँग संक्षेपमा कुरा राख्नुहुँदै सो कुरा बताउनुभएको हो । आफूहरू नाफाभन्दा पनि सेवामुखी काम गरिरहेको प्रष्ट पार्नुहुँदै प्रमुख कार्यकारी अधिकृत खनालले भन्नुभयो, “अरू मिडियाको तुलनामा गोरखापत्रलाई विशेष ध्यान दिएर सम्बन्ध विस्तार र सहयोग गर्दैआएका छौँ, गोरखापत्रको विश्वसनीयताका कारण अन्य मिडियासँग तुलना हुँदैन ।”


गोरखापत्रले यथार्थ समाचार पस्कन्छ भन्ने जनमानसमा विश्वास छ, हामीले पनि त्यही अनुरूप हेर्ने गरेका छौँ उहाँले भन्नुभयो, “हामीले उपभोक्ता र सेवाग्राहीको विश्वास आर्जन गरेका छौँ, गोरखापत्रले पाठक र शुभचिन्तकको विश्वास जितेको छ, हाम्रो उद्देश्य समान छ ।”

निजी मिडियासँग सहकार्य नै नगर्ने भन्ने त होइन, तथापि सरकारी मिडिया भएकाले गोरखापत्रसँग हाम्रो सम्बन्ध विशेष रहेको छ, भोलि पनि रहने छ, उहाँले प्रष्ट पार्नुभयो । वित्तीय बजारमा अनेक बैङ्कहरू रहे पनि राष्ट्रिय वाणिज्य बैङ्क प्रतिस्पर्धामा अरूभन्दा अब्बल रहेको र त्यसको कारण सेवाग्राहीको विश्वास भएको उहाँले जानकारी गराउनुभयो । 


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले राष्ट्रिय वाणिज्य बैङ्क मुलुकको नेतृत्वदायी बैङ्क भएजस्तै नेपाली पत्रकारितामा गोरखापत्र मुलुकको नेतृत्वकर्ता मिडिया हाउस भएको बताउनुभयो । बैङ्कसँग गोरखापत्रको हार्दिक सम्बन्ध रहँदै आएको बताउनुहुँदै भन्नुभयो, “वाणिज्य बैङ्कसँग हाम्रो विश्वसनीय साझेदारी हो, अब हाम्रो सम्बन्ध विज्ञापनले मात्र भन्दा पनि विषयवस्तु (कन्टेन्ट) का हिसाबले पनि सबल बन्नुपर्छ ।”

संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले दुवै पुराना संस्था भएकाले आपसी सहकार्य गरी अघि बढ्न आवश्यक रहेको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैङ्कले गोरखापत्रलाई गर्दैआएको सहयोग सराहनीय भएको बताउँदै उहाँले आउने दिनमा पनि दुई संस्थाबिचको सम्बन्ध अझ प्रगाढ बन्नुपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 


फोटो अवलोकनका क्रममा गोरखापत्र फोटोग्राफी शाखा प्रमुख रामप्रसाद हुमागाईँले फोटोबारे जानकारी गराउनुभएको थियो । सो अवसरमा गोरखापत्र संस्थानका कर्मचारीहरूको पनि सहभागिता थियो ।