• १२ साउन २०८१, शनिबार

सुखद नतिजा निकाल्न आतुर नेपाल

blog

डालास, अमेरिका, जेठ २० गते । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले टी–२० क्रिकेटमा कोही टोली कमजोर र कोही बलियो नहुने बताउनुभएको छ । आइसिसी टी–२० विश्वकपको पूर्वसन्ध्यामा रोहितले भन्नुभयो, “विश्वकप खेल्नका लागि हामी उत्साहित छौँ । विश्वकपलाई सबै नेपालीले नजिकबाट हेरिरहनुभएको छ । हामी सुखद नतिजा निकाल्न आतुर छौँ । टी–२० क्रिकेटमा जसले जसलाई पनि हराउन सक्छ । 

विश्वकपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहलाई ‘ग्रुप अफ डेथ’ का रूपमा पनि लिइएको छ । समूहमा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलङ्का, दक्षिण अफ्रिका र बङ्गलादेश रहेको छ । नेपाल र नेदरल्यान्ड्सबाहेक तीन देश टेस्ट मान्यता टोली हो । 

कप्तान रोहितले नेपाल टेस्ट टोलीलाई समेत हराउन सक्षम रहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “टी–२० क्रिकेटमा एक÷दुई जना चल्यो भने काफी छ तर दिन कसको चल्छ भन्न सकिन्न । विश्वकपलाई लक्षित गरी हामीले धेरै तयारी गरेका छौँ । पछिल्लो एक महिना अमेरिका र वेस्ट इन्डिजमा केही खेल खेल्यौँ । यसले यहाँको मैदान र पिचको अवस्था बुझेका छौँ । अमेरिकासँगको खेल वर्षाका कारण रद्द हुँदा पिचको अवस्था र एउटा खेलको थप एक्स्पोजर गुमायौँ ।

तर पनि हामीले आफूलाई प्रमाणित गर्ने बेला आएको छ । ब्याटिङ र बलिङमा सुधार भएको छ । यस विश्वकपलाई खेलाडीले मात्र होइन सबै नेपालीले कुरेर बसेको अवस्था छ । टोलीका सबै खेलाडीले मेहनत गरेका छौँ । हामी टेस्ट टोलीलाई समेत हराएर अगाडि बढ्ने योजनामा छौँ । 

यसै गरी नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले दस वर्षपछि विश्वकपमा फर्किएको नेपाली क्रिकेटले राम्रो नतिजा निकाल्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । “पछिल्लो समय हामीले जुन तयारी गरिरहेका छौँ त्यसले हाम्रो मनोबल उच्च रहेको छ । सबै खेलाडी मानसिक र शारीरिक रूपमा तयार छन् । हामीले एक महिनाअघिदेखि अमेरिका र वेस्ट इन्डिजमा तयारी गरेका छौँ । यहाँको पिच र वातावरण बुझेका छौँ । युवा खेलाडीमा जोस र जाँगर छ । क्यानडासँगको अभ्यास खेलबाहेक अन्य खेलमा नेपालको प्रदर्शन स्तरीय थियो । ब्याटिङ र बलिङमा व्यापक सुधार भएको छ । प्रशिक्षक मोन्टीले नेपाली टोली एसोसिएटमा अब्बल रहेको बताउँदै अब टेस्ट टोलीलाई हराउन अग्रसर रहेको पनि बताउनुभयो ।  

विश्वकपको समूह ‘डी’ मा रहेको नेपालले अमेरिकाको डालासस्थित ग्रान्ड पियरे रङ्गशालामा जेठ २२ गते नेदरल्यान्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्ने छ । नेपालले समूह चरणको दोस्रो खेल जेठ २९ मा श्रीलङ्कासँग अमेरिकाकै फ्लोरिडामा खेल्ने छ । नेपालले बाँकी खेल जेठ ३२ मा दक्षिण अफ्रिकासँग र असार २ मा बङ्गलादेशसँग सेन्ट भिसेन्टमा खेल्ने छ । 

नेदरल्यान्ड्सविरुद्ध खेल्दा नेपालका लागि अर्को फाइदा भनेको डालासस्थित ग्रान्ड पियरे मैदान हो । टेक्सासको डालासमा रहेको यस मैदानलाई नेपालले आफ्नो कीर्तिपुरस्थित त्रिवि मैदान पछिको दोस्रो घरेलु मैदानका रूपमा हेरिएको छ । कीर्तिपुरमा जस्तै पियरे मैदानमा पनि हजारौँ सङ्ख्यामा समर्थकले नेपाली टोलीलाई साथ दिने छन् ।

टेक्सासमा मात्र अहिले एक लाख ५० हजार सङ्ख्याको हाराहारीमा नेपाली बसोबास गर्दै आएका छन् । २० हजार क्षमता रहेको ग्रान्ड पियरे रङ्गशालामा नेपाल र नेदरल्यान्ड्सबिचको खेल हेर्न सम्पूर्ण टिकट बिक्री भईसकेको छ । जसमा ९० प्रतिशत टिकट नेपाली मूलका दर्शक र समर्थकले बुक गरिसकेका छन् ।

दर्शकको साथले प्रदर्शनमा थप ऊर्जा मिल्ने विश्वास लिएको नेपालका कप्तान रोहितले बताउनुभएको छ । “हाम्रा लागि त्रिवि पछिको दर्शक पाउने मैदान यही हो । समर्थकको साथमा खेल्दा हामीलाई थप ऊर्जा मिल्छ । यहाँ पनि नेपाली समर्थकको साथमा उत्कृष्ट नतिजा निकाल्ने छौँ,” रोहित भन्नुहुन्छ । नेपालले अघिल्लो साता ह्युस्टनमा विश्वकपकै अभ्यास खेल खेल्दा पनि उल्लेख्य नेपाली समर्थकले साथ दिएका थिए ।