लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ १९ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद डिपी अर्यालले श्रमाधान रोजगार मेलाले श्रम तथा रोजगार क्षेत्रका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित दुई दिने श्रमाधान रोजगार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले सो कुरा बताउनुभएको हो । मेलालाई सम्बोधन गर्नुहुँदै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन मधेश प्रदेशका उद्योगीहरूलाई आग्रह समेत गर्नुभयो । उहाँले मधेशमा रोजगारी क्षेत्रमा व्यापक समस्या रहेका कारण मधेशबाट ठुलो सङ्ख्यामा युवाहरू वैदेशिक रोजगारीमा जान बाध्य रहेको उल्लेख गर्नुभयो ।
मेलामा मन्तव्यकै क्रममा मन्त्री अर्यालले भन्नुभयो, “कुनै पनि कार्यक्रम गर्नुको पछाडि कुनै उद्देश्य हुन्छ, त्यस्तै एउटा उद्देश्य बोकेर श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो। स्वदेश र विदेशमा भएका नेपाली श्रमिकका चाङका चाङ समस्या आउँछन्, एउटै माध्यमबाट समस्या सङ्कलन र समाधान गर्न श्रमाधान सुरु गरिएको हो ।” उहाँले मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीन रूपमा श्रम क्षेत्रका समस्या समाधानका लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
सुरुवातमा सुझाव सङ्कलन गर्न, देशमा रोजगारीका अवसर वृद्धि गर्न र देखिएका समस्या समाधान गर्न श्रमाधान सुरु गरिएको हो, यसलाई भविष्यमा अझ व्यापक बनाउँदै लैजाने मन्त्रीको भनाइ छ । मन्त्रीले प्रदेशका सम्पूर्ण नागरिकलाई मेलाबारे जानकारी दिई देशको श्रमबजारको आवश्यकता अनुसार सीप सिकेर अवसरको सदुपयोग गर्न र रोजगारीको खोजीमा भौतारिरहेकाहरूलाई मेलामा सहभागी हुन आग्रह समेत गर्नुभयो ।
नेपालबाट भारत जाने श्रमिकहरूको तथ्याङ्क सङ्कलनको काम पनि सरकारले गरिरहेको मन्त्री अर्यालले जानकारी दिनुहुँदै मन्त्री अर्यालले केही समस्या परे ११४१ पैसा नलाग्ने श्रमाधान कलसेन्टरमा पनि गुनासा राख्न आग्रह गर्नुभयो ।
मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकायको स्टल, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थाहरू लगायत ३५ भन्दा बढी स्टलहरू राखिएको छ । श्रम मन्त्रालय, वैदेशिक रोजगार बोर्ड, कल सेन्टर, सुरक्षित आप्रवासन सामी, रेमी श्रमाधान लगायत सरकारी स्टलहरू छन् ।
कामको खोजीमा रहेका युवाहरूलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएको छ । विभिन्न नेटवर्किङ सत्रहरू पनि राखिएको छ । साइडलाइन सत्रहरू, तथा स्थानीय सांस्कृतिक कार्यक्रमहरू पनि राखिएको छ ।
जनकपुरधाममा आयोजित उक्त मेला जेठ १९ र २० गते दुई दिनसम्म चल्ने भएको छ । उद्घाटन सत्रमा प्रदेश मधेश सरकार श्रम तथा यातायातमन्त्री वेची लुंगेली, प्रतिनिधि सभा सदस्य मनिष झालगायतको उपस्थिति रहेको थियो ।