• ९ मंसिर २०८१, आइतबार

सेवा तथा सुविधा समय सापेक्ष नपाएको सहिद परिवारको गुनासो

blog

कार्यक्रममा सहभागी अतिथि । तस्बिरः धर्वेन्द्र झा

धर्वेन्द्र झा

जनकपुरधाम, जेठ १९ गते। सहिदका परिवारले राज्यबाट आफूहरूले पाउनुपर्ने सेवा तथा सुविधा नपाएको गुनासो गरेका छन्। 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतका मधेसी सहिद प्रतिष्ठानले शनिबार बर्दिबासमा आयोजना गरेको जनआन्दोलन तथा द्वन्द्वपीडित परिवारसँगको अन्तरक्रिया कार्यक्रममा उहाँहरूले यस्तो गुनासो गरेका हुन्।  

सहिद परिवारका सदस्यलाई राज्यले रोजगारी दिने प्रतिबद्धता विभिन्न राजनीतिक दलबाट विभिन्न कालखण्डमा हुँदै आएको भएन पनि त्यो हुन नसकेकोले सहिद परिवारका सदस्यलाई राज्यले रोजगारी दिनुपर्ने माग समेत गरेका छन्। 

मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका सहिद परिवारले देशमा विभिन्न परिवर्तनका लागि आफन्तले ज्यान गुमाए पनि त्यसपछि भएको राजनीतिक परिवर्तनपछि पनि राज्यको तर्फबाट पाउनुपर्ने सेवा तथा सुविधा नपाएकोमा दुखेसो पोखेका छन्। 



कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रप्रसाद यादवले मधेसी सहिद प्रतिष्ठानले विभिन्न आन्दोलनको क्रममा शहादत दिएका परिवारलाई राहत दिने काम गरेको बताउँदै यस पटक राहतका लागि आएको बजेट अपुग भएकाले वितरण नगरेको बताउनुभयो। उहाँले मधेश प्रदेश सरकारको तर्फबाट दिने सहयोग क्षति पूर्ति नभईकन राहत भएको बताउँदै यस वर्ष राहत रकम वितरण नगरे पनि अर्को पटक वितरण गर्ने जानकारी दिनुभयो। 

मन्त्रालयका उपसचिव उत्तमप्रसाद खरेलले मधेश प्रदेश सरकारले सहिद प्रतिष्ठान मार्फत हालसम्म ११ करोड ५० लाख राहत रकम वितरण गरेको बताउनुभयो। उहाँले स्थायी जागिर दिने विषय सरल नभएको बताउँदै यस विषयमा कानुन नै संशोधन आवश्यक भएको बताउनुभयो। कार्यक्रममा मधेश प्रदेशका ८ वटै जिल्लाका सहिद परिवारका व्यक्ति सहभागिता रहेको आयोजकले जनाएको छ ।