विजयकुमार साह
ढल्केबर, जेठ १८ गते । धनुषाको ढल्केबरमा स्थापना भएको मालपोत र नापी कार्यालय सेवा दिन सुरु गरेको छ । शुक्रबार दुवै कार्यालयको एक साथ उद्घाटन भएपछि जग्गासम्बन्धी सबै कामकाज सुरु भएको हो ।
सो कार्यालयको उद्घाटन राष्ट्रिय सभाका सदस्य आनन्द प्रसाद ढुङ्गाना र नेपाल कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले संयुक्त रूपमा गर्नुभयो । कार्यालय उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य ढुङ्गानाले सङ्घीयताको भावनाअनुसार जनतालाई आफ्नै ठाउँबाट सहज रूपमा सेवा दिने उद्देश्यले ढल्केबर मालपोत र नापी कार्यालयको स्थापना भएको बताउनुभयो। यो कार्यालयहरू सञ्चालनमा आउँदा धनुषाको उत्तरपूर्वका जनतालाई जग्गासम्बन्धी काम गराउन सुविधा पुग्ने उहाँले जानकारी दिनुभयो ।
राष्ट्रिय सभा सदस्य ढुङ्गानाले जनताको कामसँग प्रत्यक्ष जोडिएको यस कार्यालयलाई बाहिरबाट हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी रहेको उल्लेख गर्दै चुस्तदुरुस्त भएर सेवा प्रदान गर्न सुझाव दिनुभयो ।
नेपाली कांग्रेसका सहमहामन्त्री यादवले ढल्केबरलगायत आसपासका पालिकाका नागरिकलाई जग्गासम्बन्धी कामकाज गराउनका लागि अब जनकपुर जानु नपर्ने बताउनुभयो। यहाँका मालपोत र नापीको सेवा सुचारु गर्ने विषयमा आफूले पनि आवश्यक पहल गरेको उहाँले जानकारी दिनुभयो ।
ढल्केबर सञ्चालन भएको मालपोत र नापी कार्यालयले साबिकका गाविसहरू ढल्केवर, बेङ्गाडाबर, तुलसी, हरिहरपुर, नकटाझिज, भुचक्रपुर, शान्तिपुर, गोदार, भरतपुरलगायत हालका तीन वटा स्थानीय तह मिथिला नगरपालिका, गणेशमान चारनाथ नगरपालिका र बटेश्वर गाउँपालिका क्षेत्रका सेवा प्रदान गर्ने बताइएको छ ।