• १३ साउन २०८१, आइतबार

गोरखापत्रको प्रकाशन ‘परिवर्तित नेपाल’ लोकार्पित

blog

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा गोरखापत्रको प्रकाशन ‘परिवर्तित नेपाल’ को लोकार्पण गर्नुहुँदै । तस्बिर : मनोजरत्न शाही

गोरखापत्र अनलाइन

काठमाडौं, जेठ १५ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा अझै परिवर्तन गर्न नसकिएको भन्नुहुँदै सो क्षेत्रमा काम गर्न सबैलाई आव्हान गर्नुभयो । 

गोरखापत्रद्वारा प्रकाशित पुस्तक ‘परिवर्तित नेपाल’ को लोकार्पण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । व्यवस्था परिवर्तनको आन्दोलनमा योगदान गर्नुहुने सबैप्रति उहाँले सम्मान व्यक्त गर्नुहुँदै धन्यवाद ज्ञापन गर्नुभयो । गणतन्त्रलाई संस्थागत गर्दै थप उपलब्धिका लागि सबै लाग्नुपर्ने भन्दै उहाँले गणतन्त्र दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो । 


प्राप्त भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै जनताको अवस्था परिवर्तनका लागि थप उपलब्धि हासिल गर्नमा सबै लाग्नुपर्ने उहाँले चर्चा गर्नुभयो । संविधानको मौलिक हक र कानुनमा भएका व्यवस्थाको कार्यान्वयनका लागि सबै लाग्नुपर्ने चर्चा गर्नुहुँदै उहाँले व्यवस्था परिवर्तन गर्नमा योगदान दिने ज्ञात अज्ञात सहिदप्रति श्रद्धासुमन व्यक्त गर्नुभयो । 


मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले फोटो पत्रकारिता विधा एउटा उत्कृष्ट विधा भएको बताउँदै यसले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पत्रकारले खिच्ने तस्बिरले समाज रूपान्तरणमा ठुलो प्रभाव पार्ने चर्चा गर्नुहुँदै तस्बिरको सन्देश ठुलो हुनेगरेको बताउनुभयो । 

तस्बिरले समाजको चित्र उतार्ने काम गर्ने हुनाले नकारात्मक सन्देश जाने तस्बिर प्रवाह गर्न नहुने उहाँले सुझाव दिनुभयो । आफूले गीत पनि रचना गर्ने प्रष्ट पार्नुहुँदै उहाँले आजको दिन नेपाल टेलिभिजनबाट ‘गणतन्त्र जिन्दाबाद’ बोलको गीत सार्वजनिक गरिएको जानकारी दिनुभयो । 


संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले लोकार्पित पुस्तकले नेपाली समाजको चित्र र चरित्र उतारेको बताउनुभयो । गोरखापत्र संस्थानको प्रकाशन देशको हरेक घटनाको साक्षी रहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “गोरखापत्रले नेपाली इतिहास संरक्षणको काम गर्दैआएको छ, भविष्यमा पनि गर्नेछ ।” पुस्तक तयार गर्नमा सहयोग गर्ने सबैमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।


महाप्रबन्धक लालबहादुर ऐरीले पत्रकारितामा तस्बिरको आफ्नै महत्त्व रहेको बताउँदै उहाँले एक तस्बिरले हजार शब्द बोल्नेगरेको चर्चा गर्नुभयो । गोरखापत्रको प्रकाशन सबै नेपाली जनताको सम्पत्ति भएको उहाँले प्रष्ट पार्नुभयो । गोपका प्रकाशनलाई अभिलेखीकरण गर्ने काम निरन्तर भइरहेको चर्चा गर्नुहुँदै उहाँले भन्नुभयो, “गोरखापत्रले केन्द्रीय कार्यालयसँगै पोखरा, धनगढीमा पनि फोटो प्रदर्शनको काम गरिरहेको छ । धनगढीमा जेठ १५ देखि १७ गतेसम्म प्रदर्शन हुँदैछ ।”


गोरखापत्रको निमित्त प्रधान सम्पादक शिवकुमार भट्टराईले पुस्तकले नेपालको चित्र उतार्ने काम गरेको चर्चा गर्दै पुस्तक प्रकाशनमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा फोटोग्राफी विधा र यसको महत्वबारे चर्चा गरिएको थियो । गोरखापत्र संस्थान केन्द्रीय कार्यालयमा वैशाख १३ देखि जेठ १५ गतेसम्म फोटो प्रदर्शनी गरिएको छ ।