विजयकुमार साह
ढल्केबर, जेठ १५ गते। नागरिकताको विषयमा अनुसन्धान गर्न धनुषा प्रहरीको हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।
प्रहरी हिरासतमै रहँदा शुक्रबार राति उच्च रक्तचाप र मुटुको चालमा गडबडी देखिएपछि उहाँलाई जनकपुरस्थित काव्या अस्पतालमा भर्ना गरिएको थियो। उहाँ सोही अस्पतालमा उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा संलग्न चिकित्सकले काठमाडौं लगेर उपचार गर्न सिफारिस गरेपछि सिरोहियालाई काठमाडौं लैजाने तयारी गरिएको हो।
सोमबार तेस्रो पटक म्याद थपका लागि जिल्ला अदालत धनुषामा उपस्थित हुन आउँदा पनि उहाँ अस्पतालबाट सोही अस्पतालको एम्बुलेन्स चढेर आउनुभएको थियो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले चिकित्सकले काठमाडौं लगेर उपचार गर्न सिफारिस गरेपछि आवश्यक कानुनी परामर्शका लागि छलफल भइरहेको बताउनुभयो। सरकारी वकिलसँग पनि परामर्श गरेपछि सिरोहियालाई काठमाडाैं पठाउने निर्णय गरिने उहाँले जानकारी दिनुभयो।
अदालतले सोमबार तेस्रो पटक तीन दिनको म्याद थप गरिसकेको छ। यसअघि पनि अदालतले सिरोहियालाई पहिलो र दोस्रो पटक गरी तीन–तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
गत मङ्गलबार उहाँलाई कान्तिपुरको मुख्यालय काठमाडौँ, थापाथलीबाट पक्राउ गरी स्थलमार्गबाट धनुषा ल्याइएको थियो।