जीवछ यादव
लहान, जेठ १५ गते । गणतन्त्र दिवसको अवसरमा लहान–१५ स्थित राजदेवी मन्दिर परिसरमा मेरी चिल्ड्रेन बोर्डिङग स्कुलका वातावरण क्लबमा आबद्ध विद्यार्थीहरूले सरसफाइ गरेका छन् ।
जेठ १० गते बुद्ध जयन्तीको दिन चण्डी पूर्णिमामा १४ हजार बली प्रदान गरिएको राजदेवी पञ्चावती मन्दिरमा पचास हजारभन्दा बढी आएका भक्तजनहरूको भीडले भएको फोहोरलाई आज सरसफाइ गरिएको सरसफाइ अभियानी धीरेन्द्र साहले बताउनुभयो ।
धार्मिक पर्यटकीय क्षेत्रहरूमा सरसफाइ र स्वच्छ वातावरण कायम राखी राख्न अभियान गरिरहेको अभियानी साहले भन्नुभयो, "लहान १२ र २२ स्थित रहेको सलहेस फूलबारीमा समेत विशेष सरसफाइ कार्यक्रम आयोजना गर्ने तयारी भइरहेको छ । सरसफाइको लागि लहान स्थित विभिन्न कलेज र विद्यालयहरूसँग समन्वय र लहान नगरपालिकाका सरसफाइ कर्मीहरूको सहयोगको लागि पहल गरिरहेको छु ।"
लहान–१५ स्थित राजदेवी मन्दिरमा सरसफाइ गर्न सरसफाइ अभियानी धीरेन्द्र साहको पहलमा लहान–६ स्थित मेरी चिल्ड्रेन स्कुलका वातावरण क्लबले गरेको सरसफाइ कार्यक्रमले सबैको सहयोग र सदभावले राजदेवी मन्दिर धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास भइरहेको मन्दिर संरक्षण समितिका सचिव वीरेन्द्र कुमार चौधरीले बताउनुभयो।
सहरी क्षेत्र र धार्मिक पर्यटकीय क्षेत्रको सौन्दर्यकरणको लागि सरसफाइ प्रमुख आयाम भएको नगरप्रमुख महेश प्रसाद चौधरीले भन्दै सरसफाइलाई थप प्रभावकारी बनाउन सरकारी तथा गैर सरकारी क्षेत्रका सरोकारवाला निकायहरूसँग समन्वय गरेर शिक्षा र चेतनाको लागि आउने बजेटमा रकम विनियोजन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
लहान नगरपालिकाले सरसफाइको लागि कुनै कसर बाँकी नराखी गरिरहेको प्रयासलाई सफल बनाउन जागरण अभियान चलाउन आवश्यक रहेको लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पसका प्रमुख सञ्जय कुमार चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, "सरसफाइ र वृक्षारोपण नियमित कार्यक्रममा लहान क्याम्पसस्थित रहेको वातावरण क्लबले सहयोग गर्न तयार रहेको छ ।"