• ४ असार २०८१, मङ्गलबार

बालउद्यान व्यवसायमा ठुलो राजस्व छली

blog

विजयकुमार साह 

ढल्केबर, जेठ १४ गते । बालउद्यानका सञ्चालकहरूले वार्षिक अरबौँ रुपियाँ राजस्व छली गर्ने गरेको तथ्य खुलेको छ । मेला महोत्सवमा रोटेपिङ लगायत विभिन्न मनोरञ्जनका साधन सञ्चालन गर्ने बालउद्यानका सञ्चालकहरूले भन्सार तथा आन्तरिक राजस्व छली गर्ने गरेका हुन् । 

बालउद्यानका सञ्चालक अधिकांश भारतीय नागरिक छन् । उहाँहरू बढीमा तीन महिनाका लागि अस्थायी भन्सार तिरेर बालउद्यानको सामान नेपाल ल्याउनुहुन्छ र वर्षौँसम्म सञ्चालन गरेर राजस्व छल्ने गरेको नेपाल मेला महोत्सव सङ्घका केन्द्रीय अध्यक्ष नारायण महतोले बताउनुभयो । 

त्यस्तै, कुनै पनि अस्थायी प्रायोजनका लागि व्यावसायिक कारोबार गर्दा सम्बन्धित ठाउँमा रहेको आन्तरिक राजस्व कार्यालयबाट अस्थायी पान नम्बर लिनुपर्ने कानुनी व्यवस्था छ। तर उहाँहरू त्यस्तो कुनै अनुमति नलिई निर्वाधरुपमा व्यवसाय चलाएर राजस्व छल्ने गरेको उहाँले जानकारी दिनुभयो । 

बालउद्यानको नाउँमा हुने गरेको राजस्व छलीबारे नेपाल मेला महोत्सव सङ्घले आन्तरिक अनुगमन गरेर त्यसको प्रतिवेदन देशको ७७ वटै जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयमा समेत पत्राचार गरेर जानकारी गराइएको छ । राजस्व छली गरिरहेका भारतीय बालउद्यान व्यवसायीलाई नियन्त्रणमा ल्याउन केही दिनअगाडि मात्र राष्ट्रिय अनुसन्धान विभागलाई पत्राचार गरेको उहाँको भनाइ छ । 

“बालउद्यानभित्र रोटेपिङ्, थ्रीवान, जम्पिङ, रेल, झुलापिङ, ब्रेकडान्स, मिक्की भूत लगायत मनोरञ्जनका साधनहरू हुन्छन् । यसबाट दैनिक लाखौँ रुपियाँको कारोबार हुन्छ तर व्यवसायीले कुनै पनि निकायमा आम्दानी कर बुझाउँदैन”, अध्यक्ष महतोले भन्नुभयो । उहाँहरू अस्थायी पान नम्बर बिना नै प्रवेश शुल्कको नाउँमा एक सयदेखि १५० रुपियाँसम्म उठाउने गरेको उहाँको भनाइ छ । 

अध्यक्ष महतोले मेला महोत्सवमा बालउद्यान सञ्चालनका लागि अनुमति दिँदा तथा बालउद्यानका सामान भारतबाट आयात गर्दा नेपाल मेला महोत्सव सङ्घको सिफारिस अनिवार्य लागू गरे राजस्व सङ्कलनमा सहयोग पुर्‍याउन सकिने बताउनुभयो । नियामक निकाय सय विषयमा गम्भीर बन्नुपर्ने भन्दै उहाँले बालउद्यानमाथि कडाइ नहुँदा वार्षिक दुई अर्ब रुपियाँ अनधिकृत तवरले भारततर्फ जाने गरेको जानकारी दिनुभयो । 

तीन महिनाका लागि भनेर भारतबाट आयात गरिएका ट्रकका ट्रक बालउद्यानका सामान वर्षौँसम्म राखेर आम्दानी गर्ने तर राजस्व नबुझाउनेलाई छानबिन गरी कानुको दायरा ल्याउनुपर्ने र म्याद नाघेका खेल सामान जफल गर्नुपर्ने अध्यक्ष महतोले बताउनुभयो ।