• ४ असार २०८१, मङ्गलबार

धार्मिक स्थल ढोरवराह

blog

उत्तरगङ्गा नदीको उद्गम स्थल र ढोरवराहको थान एकै ठाउँमा रहेकाले ढोरवराहलाई उत्तरगङ्गा ढोरवराह भन्ने गरिएको हो । यहाँ रहेका सातमुले मूल, वराह मूल र अपुता मूल उत्तरगङ्गा नदीका मुहान हुन् । सुर्तिबाङ पहाडको उत्तरी मोहडाको फेदीमा रहेको यस स्थानमा रहेका पानीका तीन मूलमध्ये सातमुले मूललाई उत्तरगङ्गा मूल पनि भनिन्छ । यसै मूलको पानीबाट स्नानका लागि बाइस धारा बनाइएको छ भने वराह मूलको पानीबाट बनेको कुवाको छेउमा रहेको बहरे गोरुलाई ढोरवराहका रूपमा पुज्ने गरिन्छ । यो गोरु जुरो पलाएको, कपाल गुजुल्टो परेको र खुट्टा नभएको छ । अपुता मूलको पानी भने खान, नुहाउन प्रयोग गरिँदैन । खाएमा सन्तान हँुदैन भन्ने लोककथन छ ।

सुर्तिबाङ पहाडलाई ढोरवराहको शिर मानिने हुँदा त्यहाँको ढुङ्गाका शिलालाई ढोरवराहको थानमा राखेर पुज्ने गरिएको छ । यसै पवित्र पहाडको दक्षिणी मोहडामा रहेको रुद्रतालमा सतीदेवीको रुद्र अर्थात् घाँटी पतन भएको धार्मिक मान्यता छ । रुद्रतालबाट जल प्रवाह भएर रुद्रवती गङ्गा हुँदै कालीगण्डकीमा मिसिएको ठाउँलाई रुद्रवेणी अर्थात् रुरुक्षेत्र भनिन्छ । सुर्तिबाङ पहाडको पूर्वपट्टिको होचो भागलाई देउराली भन्ज्याङ भनिन्छ । यसै भन्ज्याङमा रहेको ढुङ्गाको खम्बाबाट बनेको देउरालीको थानलाई धार्ने ठेको भनिन्छ । खडेरी पर्दाका वर्ष पुनमगरका कुमार केटोलाई भोकै बस्न लगाएर यसै थानमा ल्याई खम्बाको छेउमा पछाडि हात बाँधेर भेँडाको उनबाट बनेको काम्लोमाथि सुताएर ‘कहिले पानी पर्छ’ भनी सोध्ने गरिन्छ । यसो गरेपछि उसले भनेको दिनमा पानी पर्ने गरेको छ भन्ने यहाँका बासिन्दाको भनाइ छ । धार्ने ठेकामा साउनको पहिलो हप्ता गाईको दुधले धार दिएपछि मात्रै बर्सातको समयमा सुर्तिबाङ पहाडमा चरनका लागि लगेका गोठमा खिर, कुराउनी र ताई रोटी पकाउन पाइन्छ । 

धार्मिक महत्त्व

बागलुङ जिल्लाको ढोरपाटन उपत्यकामा अवस्थित उत्तरगङ्गा ढोरवराहको पूजा सञ्चालन गर्न करिब तीन सय वर्षअघि नै गुठी र पुजारीको व्यवस्था गरिएको पाइन्छ । त्यसका लागि बागलुङको देवीथान भन्ने ठाउँमा गुठी जग्गा र राजकुटका कमर जोगीलाई पुजारी तोकिएको थियो । विसं २०१४ देखि मालपोत कार्यालय, बागलुङले वर्षको १० रुपियाँमा उत्तरगङ्गा ढोरवराह थानको भेटी सङ्कलन गर्न ठेक्का लगाएपछि कवर जोगीले आठ पुस्तादेखि निरन्तर रूपमा गर्दै आएको पूजा गर्न छाडे । समयमै खोजीनिती नहुँदा गुठीबापतको जग्गा पनि मासिएको छ । ठेक्कामार्फत भेटी सङ्कलन गर्ने परिपाटी अझै कायम छ र यस आर्थिक वर्षमा पाँच लाख रुपियाँमा ठेक्का लागेको छ । विसं २०२४ मा वराह मूललाई भित्र पारेर स्थानीय भीमबहादुर थकालीले मन्दिर बनाएपछि यहाँका स्थानीय झाँव्रmीहरूको आङमा वराह उत्रेर ‘मैले रगतको भोग खाएपछि आकासे पानीले नुहाउनु पर्छ, त्यसैले म छानामुनि बस्दिनँ’ भनेकाले छानो हटाएर पर्खालले मात्रै घेरेर राखिएको छ । 

वराह मूलमा जनैपूर्णिमाका दिन सबैभन्दा धेरै भेडाका साँढको बलि दिइने हुँदा रगत पखाल्न बेलुका ठुलो पानी पर्ने गरेको स्थानीयवासीको भनाइ छ । यहाँका बाइस धारा सर्वप्रथम २०२६ सालमा तत्कालीन धौलागिरिका अञ्चलाधीश सत्यनारायण झाले बनाउन लगाउनुभएको थियो । हिन्दु धर्मशास्त्रमा उत्तरवाहिनी नदीलाई पवित्र नदी मानिन्छ । उत्तरगङ्गा ढोरवराहमा कागभुसुण्डी नाम गरेका ऋषिले कागको रूप धारण गरेर तपस्या गरी बसेका थिए भन्ने शास्त्रहरूमा उल्लेख छ । कागभुसुण्डी ऋषि यहाँ आएर जीवन बिताउँदा भगवान् शिवको सम्पर्कमा बसेको हुँदा एक दिन भगवान् शिवले माता पार्वतीलाई रामकथा सुनाउँदा उनले पनि सुनेका थिए । त्यसैले गर्दा वाशिष्ठ ऋषिले राजा रामलाई यही पुण्य भूमिमा आएर कागभुसुण्डीसँग शिक्षा लिएमा तिमी धर्म, अर्थ, काम, व्रmोधबाट मोक्ष हुने छौ भनी बताएका थिए । कागभुसुण्डी ऋषिले मुस्ताङको कागवेनीमा समेत तपस्या गरी बसेको हुँदा पितृ उद्धारका लागि कागवेनीमा गएर श्राद्ध गर्ने प्रचलन छ भने उत्तरगङ्गा नदीमा मृतकको जन्मकुण्डली अर्थात् चिना बगाई यसै नदीको पानी लगेर रुद्रतालमा तर्पण दिने गरिन्छ । यसै धार्मिक सम्बन्धले गर्दा उत्तरगङ्गा ढोरवराहलाई मुक्तिनाथको भाइ पनि भन्ने गरिन्छ ।

उत्तरगङ्गा ढोरवराहको धार्मिक महìवबारे धेरै लोककथन छन् । तीमध्ये एउटा लोककथन बलि राजासँग सम्बन्धित छ । यस लोककथन अनुसार उत्तरगङ्गा ढोरवराहमा जनैपूर्णिमाका दिन बलि राजा प्रकट भएका थिए । बलि राजाले म स्वर्गको राजा हुन पाऊँ भनी १२ वर्षसम्म गरेको तपस्या असार मसान्तका दिन पूरा हुँदै थियो तर भगवान् विष्णुले उनलाई स्वर्गको राजा हुनबाट रोक्न तपस्या भङ्ग गरिदिए र तिमीलाई स्वर्ग मिल्दैन तर स्वर्ग जस्तै सुन्दर ठाउँ मिलाइदिन्छु भनी ढोरपाटनमा ढकमक्क फूल फुलेको जनैपूर्णिमाका दिन पारेर वराहका रूपमा प्रकट गराएका थिए भन्ने भनाइ छ । बलि राजाका तीन छोरीमध्ये कान्छी छोरीले विवाह नगरी देवताको रूप धारण गरेर यसै स्थानमा बसेको हुँदा उत्तरगङ्गा ढोरवराहलाई कान्छी बाहुनी पनि भन्ने गरिन्छ । 

यस वराहको धार्मिक महìवबारे अर्को लोककथन बहरे गोरुसँग सम्बन्धित छ । यस लोककथन अनुसार सुप्राङ्गको लाटीवराह र उत्तरगङ्गा ढोरवराहबाट गएको बहरे गोरु देउराली भन्ज्याङमा दुईतर्फ भएर जुध्दा लाटीवराहको बहरे गोरु हारेर भागेछ भने उत्तरगङ्गा ढोरवराहबाट गएको बहरे गोरु जितेर फर्की यहीँ आएर बसेछ । यहाँ बसेको बहरे गोरु शक्तिशाली भएको हुँदा छोरा नहुने दम्पतीहरू यहाँ आएर छोराको वर मागेमा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । बहरे गोरु जुध्दा सुर्तिबाङ पहाड भत्केर देउराली भन्ज्याङ बनेको लोककथन पनि छ । 

वर माग्ने विधि 

यहाँ वर माग्न आउनेले सर्वप्रथम रुद्रतालमा र त्यसपछि देउराली भन्ज्याङमा रहेको देउरालीको थानमा धजा चढाउने गर्छन् । त्यसपछि उत्तरगङ्गा ढोरवराहमा आएर यहाँका बाइस धारामा नुहाई वराहमूलमा गएर बत्ती बाली फूलपाती, अक्षताले भगवान् शिवको वाहन बहरे गोरुलाई पुजेर बाइस वटा धजा चढाउने गरिन्छ । त्यहाँ पूजा गर्न लाग्दा वराह मूलको कुवामा बुल बुल गरेर पानीका फोका उठेमा ग्रहदशा राम्रो भएको मानिन्छ भने फोका नउठे ग्रहदशा बिग्रेको मानिन्छ । छोरो पाउन भाकल गर्नेहरूले वराह मूलको कुवामा काँव्रmो चढाउने गर्छन् । काँव्रmो नपाए हरियो दुधे मकै चढाउने गर्छन् । यति गरेपछि वराह मूलको कुवामा हात हालेर भुइँमा जे भेटिन्छ, त्यसलाई समातेर नहेरीकन सेतो टालोमा पोको पारेर घरमा लगिन्छ । वर मागेबमोजिम छोरो जन्मेपछि तीन वर्षभित्र छोरो र सेतो टालोमा पोको पारेको वस्तुलाई ल्याएर ‘यो तिम्रो छोरो हो’ भनी देखाउने प्रचलन छ । त्यसपछि सेतो टालोमा पोको पारेको वस्तु वराह मूलको कुवामा छाडिन्छ । साथै छोरालाई भेडाको साँढमा पानी हाल्न लगाएर पर्सेपछि वराह मूलको कुवाको छेउमा बलि दिइन्छ । 

मगर र वराहको सम्बन्ध

ढोरपाटन उपत्यकामा ढोरवराहका अतिरिक्त सिद्धवराह, लाटावराह, सिमवराह, चिसापानीवराह र जल्पावराह पनि छन् । धेरै भेडा पाल्ने ठाउँमा वराह देवताको बासस्थान हुन्छ भन्ने धार्मिक विश्वास मगर समुदायमा छ । उनीहरू घरपालुवा भेँडा र नाउर भनिने जङ्गली भेडालाई वराह देवताको प्रतीक मान्ने गर्छन् । यो समुदायले वराह देवतालाई शक्ति, बुद्धि प्रदान गर्ने र कुलको रक्षा गर्ने देवताका रूपमा पुज्ने गर्छन् । उत्तरगङ्गा ढोरवराहमा मुख्य पूजा जनैपूर्णिमाका दिन हुने गर्छ । त्यस दिन सबैभन्दा पहिले यहाँका तालुकदार मुखिया खलकका उमरा पुन र बुढाथोकी मगरले पूजा गरेर भेडाको साँढको बलि दिएपछि मात्रै अरूले पूजा गर्न र बलि दिन पाइन्छ । यी दुई खलकले बर्सेनि पालैपालो गरी हालसम्म पुस्तौँदेखिको यो परम्परा धान्दै आएका छन् । वराह देवताको शक्ति र बुद्धिले गर्दा नै यहाँको मगर समुदायले जुम्ला राज्यको अधीनमा रहेको ढोरपाटनलाई स्वतन्त्र गराएर मगरात राज्य कायम गर्न सकेका थिए भन्ने लोककथन छ ।

मगर समुदायका वयोवृद्ध व्यक्तिहरूको भनाइ अनुसार एक दिन ढोरपाटनबाट बोबाङ झर्दै गरेका मगरहरूलाई बाटोमा पर्ने वनमा अजङ्गको सर्पले बाटो छेकेपछि उनीहरू त्यहीँ बास बसेछन् । वनमा रहेका सिद्धवराहको आशीर्वाद प्राप्त भएकाले राति सबै मगरले ‘यहाँबाट फर्क, म तिमीहरूलाई साथ दिन्छु । तिमीहरूले जुम्लीलाई जित्न सक्छौ’ भन्ने एउटै सपना देखेछन् । त्यहाँबाट फर्केर १५ थर मगर र तीन थर विश्वकर्मा मिली जुम्लीलाई ढोरपाटनबाट लखेट्दै लगेर टीकाधारा भन्ने ठाउँमा पुगेपछि जितेको हुँदा त्यसको उपलक्ष्यमा बाजा बजाई हर्षबढाइँ गरेर टिको लगाएको ठाउँलाई अहिले पनि टीकाधारा भन्ने गरिन्छ । त्यस विजय उत्सवमा बजाएको दमाहा बाजा उत्तरगङ्गा ढोरवराहलाई चढाइएको हुँदा अझै पनि त्यहाँ उक्त बाजाको चिनोका रूपमा ढुङ्गाको दमाहा रहेको छ । 

उत्तरगङ्गा मेला 

ढोरपाटनका स्थानीय बासिन्दामा असार मसान्तका दिन देवताहरू अलप हुन्छन् र जनैपूर्णिमाका दिन प्रकट हुन्छन् भन्ने धार्मिक मान्यता छ । जनैपूर्णिमाका दिन बलि राजा उत्तरगङ्गा ढोरवराहका थानमा प्रकट भएका हुँदा उनलाई स्वागत गर्न गाउँले भेला भएकाले त्यसै समयदेखि जनैपूर्णिमाका दिन मेला लाग्ने गरेको लोककथन छ । १५ दिनसम्म लाग्ने यस मेलालाई उत्तरगङ्गा मेला भनिन्छ ।