• ३ असार २०८१, सोमबार

प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण : पूर्व राष्ट्रपति यादव

blog

नेपाल पत्रकार महासंघ कास्कीको भवनमा स्थापित पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र उद्घाटन गर्नुहुँदै पूर्वराष्ट्रपति रामवरण यादव। तस्बिरः रमेश पौडेल

फडिन्द्र अधिकारी

लेखनाथ, जेठ ११ गते। पूर्व राष्ट्रपति रामवरण यादवले प्रेस स्वतन्त्रता लोकतन्त्रको प्राण भएको उल्लेख गर्दै त्यसमा लोकतान्त्रिक शक्तिले कहिल्यै सम्झौता गर्न नहुनेमा जोड दिनुभएको छ। 

नेपाल पत्रकार महासंघ कस्कीले स्थापना गरेको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र शुक्रबार सुरुआत गर्दै उहाँले प्रेसको महत्त्वलाई मनन गरी संविधानको प्रस्तावनामै प्रेस स्वतन्त्रा राखिएको उल्लेख गर्नुभयो। 

पठन संस्कृतिको विकास गर्दै नयाँ पुस्तालाई अघि बढ्न उहाँले अनुरोध गर्नुभयो। अहिले सञ्चार उद्यमीमाथि भएको कारवाहीको अन्तर्राष्ट्रिय रुपमै विरोध भएको जनाउँदै उहाँले थप्नुभयो, “प्रेस लोकतन्त्रको अक्सिजन हो। मिडियामाथिको हस्तक्षेपको अन्तर्राष्ट्रिय स्तरमै विरोध भएको छ। स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप कुनै बाहानामा स्वीकार गर्न सकिँदैन।”

गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले लोकतन्त्र र स्वतन्त्र प्रेस परिपूरक भएको विचार राख्नुभयो। नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारको क्षमता विकास र पत्रकारिताको विकासमा इलाइब्रेरीले उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गर्नुभयो। 

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले इलाइब्रेरीमा ५५ लाख लगानी भएको जानकारी दिनुभयो। पत्रकारिताका पुस्तक, जर्नल, डिजिटल सामग्री लगायतको व्यवस्था गरी यसलाई अध्ययन केन्द्रको रुपमा विकास गरिने उहाँको भनाइ छ।