• ३ असार २०८१, सोमबार

भत्ता वृद्धि गर्न माग

blog

रेखीराम राना
तानसेन, जेठ ११ गते ।
जिल्लाका विभिन्न विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूले भत्ता वृद्धि गर्न माग गरेका छन् । हाल सरकारले प्रधानाध्यापकहरूलाई प्रदान गर्दै आएको भत्ता प्रोत्साहन गर्नेभन्दा निरुत्साहित गर्ने खालको रहेको भन्दै प्रधानाध्यापकहरूले भत्ता वृद्धि गर्न माग गरेका हुन् ।

हाल नेपाल सरकारले माध्यमिक तहका प्रधानाध्यापकलाई मासिक पाँच सय, आधारभूत विद्यालयका प्रअलाई तीन सय र प्रावि तहका प्रअलाई दुई सय रुपियाँ मासिक भत्ता दिएको छ । समय अनुकूल प्रधानाध्यापकको भत्ता ज्याँदै न्यून रहेको भन्दै तानसेन नगरपालिकाभित्रका ४५ वटा विद्यालयका प्रधानाध्यापकहरूको भेलाले आगामी आव २०८१/०८२ मा प्रअ भत्ता वृद्धि गर्न माग गरेका छन् । यदि आफूहरूको माग अनुसार भत्ता वृद्धि नगरे भत्ता फिर्ता गर्ने निर्णय गरिएको देववाणी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर थापाले जानकारी दिनुभयो ।

प्रअले पाउने भत्ता समय अनुसार वृद्धि नभएको र ३०औं वर्षदेखि एकै खालको भत्ता पाउने अवस्थाले प्रअलाई निरुत्साहित बनाएको उहाँको भनाइ छ । विद्यालयको समग्र शैक्षिक तथा व्यवस्थापकीय पक्षको सुधार गर्न प्रअलाई समयानुसार आवश्यक खर्च पुग्ने गरी भत्ता दिनुपर्ने उहाँले बताउनुभयो ।

आगामी वर्ष भत्ता वृद्धि नगरे तानसेन मातहतका प्रअहरूले भत्ता सरकारलाई नै फिर्ता गर्ने चेतावनी दिएका छन् । बरु निःशुल्क काम गर्न तयार रहेको दमकडा माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनप्रसाद सापकोटाले बताउनुभयो ।

सरकारले दिएको भत्ताले मोबाइल खर्च पनि नपुग्ने भएकाले आगामी वर्ष भत्ताबारे पुनरवलोकन नभए हाल पाउँदै आएको भत्ता फिर्ता गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।