गोकर्ण दयाल
बैतडी, जेठ ११ गते । नरभक्षी चितुवाले २८ जना बालबालिकाको सिकार गरिसकेको बैतडी जिल्लामा घाइतेहरू पनि उत्तिकै छन् । चितुवाले विशालपुर गाउँमा मात्रै छ बालकको ज्यान लिएको छ । १७ जना घाइते अवस्थामा जीवन बिताइरहेका छन् । बैतडीमा चितुवाको जोखिम बढेपछि मान्छे र चितुवाबिच एकअर्काको शत्रुता घटाउन सहअस्तित्व अभियान सञ्चालन गरिएको छ ।
यस अभियानमा लागेका मेलौली नगरपालिका–९, विशालपुरका शङ्करदत्त भट्ट चितुवा र मावनबिच सहअस्तित्व बढाउने समूहको अध्यक्ष बन्नुभएको छ । आँगनमा खेल्दै गरेको छोरा चितुवाको सिकार बनेपछि उहाँ जङ्गली जनावर चितुवा भगाउने र बचाउने अभियानमा लाग्नुभएको हो । त्यस्तै विशालपुर गाउँकी गुनडी लोहारकी छ वर्षीय छोरी चितुवाको आहारा बनिन् । यस गाउँमा लगातार छ बालबालिकालाई चितुवाले सिकार बनाएपछि चितुवा धपाउन सिङ्गो गाउँ एकजुट भएको छ ।
स्थानीयले चितुवा मार्न आन्दोलन नै चर्काएपछि चितवन राष्ट्रिय निकुञ्चका वन विज्ञको समूहले २०७७ फागुनमा नरभक्षी चितुवालाई काठको खोरमा थुनेर डाँडो कटाएर लगे पनि विशालपुर गाउँमा चितुवाको आतङ्क रोकिएको छैन । चितुवा र मानवबिचको द्वन्द्वमा २०६८ सालदेखि हालसम्म २८ जनाले ज्यान गुमाउँदा १८ वटा चितुवा मरेको डिभिजन वन कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख दिलीपकुमार यादवले बताउनुभयो । चितुवा मार्नुभन्दा भगाउन र नियन्त्रण गर्न सहअस्तित्व अभियान आवश्यक परेको भनाइ स्थानीयवासीको छ ।
विज्ञद्वारा अध्ययन सुरु
मानव र वन्यजन्तुबिचको द्वन्द्वले उग्र रूप लिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले सहअस्तित्व अभियान अन्तर्गत स्वचालित क्यामरा जडान गरेर नरभक्षी चितुवाको अध्ययन तथा निगरानी सुरु गरेको छ । मेलौली नगरपालिका–९, विशालपुर गाउँका स्थानीयलाई चितुवा मान्छेको शत्रु होइन भन्ने विषयमा तालिम दिएर ३६ परिवारलाई वैकल्पिक जीविकोपार्जनका लागि ३२ लाख रुपियाँ सहयोग गरेको छ ।
चितुवा प्रभावित बस्ती छनोट गरेर बाख्रापालनका लागि खोर निर्माण, अदुवा÷बेसार खेती र कृषि उपज सङ्कलन केन्द्रका लागि सहयोग प्राप्त भएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । चितुवा प्रभावित बस्तीका दुई वटा सामुदायिक वनका समूहलाई १८ लाख रुपियाँ थप उपलब्ध गराइएको छ । उक्त रकमको छ प्रतिशत ब्याजदरमा समुदायले जीविकोपार्जनका लागि ऋण पाउने छन् । चितुवा र मानवबिच सहअस्तित्व कायम गर्न स्थानीय मेलौली सामुदायिक सिकाइ केन्द्र र विशालपुर सामुदायिक सिकाइ केन्द्रका पदाधिकारी यो अभियानमा लागेका वडाध्यक्षले जानकारी दिनुभयो ।
५० वटा क्यामरा जडान
चितुवा प्रभावित तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा ५० वटा स्वचालित क्यामरा जडान गरिएको छ । शुक्लाफाँटाका वरिष्ठ वन्यजन्तु प्राविधिक सुमन मल्ल, इनल्यान्ड नर्वे युनिभर्सिटी अफ अप्लाइड साइन्सका वन्यजन्तु अध्ययनकर्ता इमिल इरिक्सन र कलरा मार्थिनोभिकको टोली बैतडी आइपुगेको हो ।
सो टेली चितुवाको गतिविधि रेकर्ड गरेर फर्किएको छ । क्यामरामा रेकर्ड भएका गतिविधिको अध्ययन थालिएको शुक्लाफाँटा कार्यालय प्रमुख लक्ष्मीराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “मान्छे र वन्यजन्तुबिच सहअस्तित्व कायम गर्न ‘पाइलट प्रोजेक्ट’ सुरु गरेका छौँ । चितुवा मान्छेको शत्रु त होइन तर पनि किन मान्छेको सिकार गरिरहेको छ ? यस विषयमा अध्ययन गरिने छ ।”
खोसियो चितुवाको आहारा
वनजङ्गलमा पाइने चितुवाको आहारा चोरी सिकारी र अतिक्रमणमा परे पनि चितुवा मान्छे खान पल्केको वडाध्यक्ष भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “जनप्रतिनिधिका हैसियतले अध्ययन टोलीसँग घुम्दा बैतडीमा चोरी सिकारीको भयावह स्थिति देखियो । चितुवाले खाने आहारा सबै मानिसले खाएको पाइयो ।” “त्यसको बलदामा मानव बस्तीमा पसेर चितुवाले बालबालिका खाने गरेको रहेछ । चोरी सिकारीको दृश्य देख्दा अचम्ममा परेँ,” उहाँले थप्नुभयो ।”
सिसी क्यामरा चोरी
सामुदायिक वनमा राखिएका ५० मध्ये पाँच वटा क्यामरा चोरी भएको छ । मेलौली नगरपालिका–१, २ र ९ नम्बर वडा, शिवनाथ गाउँपालिका–५ र पञ्चेश्वर गाउँपालिका–४ को गर्मागाडबाट पाँच वटा क्यामरा चोरी भएको छ । तीमध्ये दुई वटा क्यामरा फिर्ता भए पनि तीन वटा क्यामराको अझै पत्तो नलागेको वडाध्यक्ष भट्टले बताउनुभयो ।
कतिपय क्यामरामा बन्दुक बोकेका मानिसले जङ्गली जनावर घोरल, रतुवा, जङ्गली बँदेल, वनकुखुरा र कालिजको सिकार गरेको देखिएको बताइएको छ । विभिन्न गाउँमा ९४५ वटा दर्तावाला हतियार (भरुवा बन्दुक) रहेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । वैध रूपमा राखिएको भन्दा अवैध हतियार धेरै रहेको अनुमान गरिएको छ । २०७९ सालको निर्वाचनमा हतियार बुझाउने सूचना जारी गर्दा सबै हतियार नबुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।