• २ असार २०८१, आइतबार

अन्डा उत्पादनमा कमी

blog

काठमाडौँ, जेठ ११ गते । गर्मी कारण अन्डा उत्पादनमा कमी आएको छ । उत्पादनमा कमी आएसँग लागत वृद्धि भएको अन्डा उत्पादन गर्ने किसानले जनाएका छन् । 

नेपाल अन्डामा आत्मनिर्भर छ । यहाँ खपतभन्दा बढी अन्डा उत्पादन हुने गरेको छ तर यो गर्मीका कारण उत्पादनमा केही कमी आएको छ । कृषि मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा सात करोडभन्दा बढी कुखुरा छन्, त्यसमध्ये एक करोड ११ लाखभन्दा बढी कुखुराले फुल पार्ने गरेका छन् । वार्षिक एक अर्ब ५० करोड वटाभन्दा बढी अन्डा उत्पादन हुन्छ तर यो उत्पादनमा ह्रास आएको छ । 

अन्डाको मूल्य बढेपछि उत्साहित कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निराश भएका छन् । उत्पादनमा कमी आएसँगै अन्डाको लागत बढेको छ । हाल एउटा अन्डा तयार गर्न १६ रुपियाँभन्दा बढी खर्च हुने गरेको छ जबकि यसअघि एउटा अन्डाको लागत मूल्य साढे १४ देखि १५ रुपियाँ पर्ने गरेको छ । त्यसले गर्दा उत्पादनमा कमी आएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल बताउनुभयो । दैनिक ५० देखि ६० लाख उत्पादन हुने अन्डा गर्मीका कारण आधा अहिले आधा घटेका छन् । 

गर्मीसँगै एच नाइन रोगका कारण पनि उत्पादनमा कमी आउने गरेको बताउँदै उहाँले किसानले कुखुरालाई एक छाक दाना खुवाउन नै छाडेको बताउनुभयो । लागत घटाउनका लागि कुखुरालाई दिउँसो दाना खुवाउन छाडिएको छ । 

त्यसो त कोभिडका कारण खस्किएको ह्याचरी उद्योग अझै बन्न सकेको छैन । कोभिड महामारीका कारण बन्द भएका कतिपय उद्योग अझै सञ्चालनमा आएका छैनन् । नेपाल ह्याचरी उद्योग सङ्घका अनुसार चलेका उद्योगले पनि क्षमताभन्दा कम चल्ला उत्पादन गरिरहेका छन् । देशभर एक सातामा करिब ५० लाख चल्ला उत्पादन गर्ने क्षमता भए पनि हाल करिब २२ लाख चल्ला मात्रै उत्पादन भइरहेको सङ्घले जनाएको छ ।