• २ असार २०८१, आइतबार

भारत पुर्‍याइएका ६ जनाको उद्धार

blog

फाइल तस्बिर ।

लक्ष्मण पौडेल

भैरहवा, जेठ १० गते । विभिन्न बहानामा नेपालबाट भारत पुर्‍याइएका ६ जना बालकहरूको सकुशल उद्धार गरी स्वदेश फिर्ता गरिएको छ । मानव बेचबिखन विरुद्ध लामो समयदेखि काम गर्दै आएको संस्था “किन इन्डिया” ले विभिन्न सङ्घ संस्थाहरूको सहयोगमा १३ देखि १७ वर्षका ती बालकहरूको उद्धार गरी भैरहवा ल्याइएको हो । 

उद्धार गरिएका बालकहरू कपिलवस्तु, अर्घाखाँची, प्युठान, गुल्मी, गोर्खा, र खोटाङका छन् । किन इन्डियाका निर्देशक नवीन जोशीले उद्धार गरिएका बालकहरूमध्ये तीन जना बालकहरूलाई बालश्रमिक बनाइएको र जोखिमपूर्ण काम गर्न बाध्य बनाइएको अवस्थामा उद्धार गरिएको जानकारी दिनुभयो । 

उद्धार गरिएकामध्ये एक बालक बोल्न सक्दैनन् । उनलाई गुजरातबाट अलपत्र अवस्थामा उद्धार गरी सामाजिक सञ्जाल मार्फत घर तथा आफन्त पत्ता लगाइएको निर्देशक जोशीले बताउनुभयो । अर्का एक बालकलाई जम्मू कश्मीरबाट उद्धार गरिएको थियो । कुनै अपरिचित मानिसले खानामा केही मिसाएर खुवाएर अचेत बनाई कश्मीर पुर्‍याएका थिए । 

ती बालकलाई कुनै आतङ्कवादी कार्यमा संलग्न गराउने उद्देश्यले कश्मीर पुर्‍याइएको हुनसक्ने उद्धारमा खटिएकाहरूको अनुमान छ । यस्तै अर्का बालकलाई पनि बेचिने जोखिममा रहेको अवस्थामा उद्धार गरिएको थियो । 

किन इन्डियाले लामो समयदेखि उद्धारका कार्यहरू गर्दै आएको छ भने उनीहरूलाई कानुनी उपचार र क्षतिपूर्ति दिलाउन सहयोग गरिरहेको छ ।

नेपाली राजदूतावास नयाँ दिल्ली, भारतीय प्रशासन, राष्ट्रिय बाल अधिकार परिषद्, शुभ अवसर ग्राम नेपालको सहयोगमा उद्धार गरिएका ती बालकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई जिम्मा लगाइएको थियो । उद्धार गरिएका मध्ये तीन बालकको पारिवारिक पुनर्मिलन गराइएको छ भने तीन जनालाई छिट्टै नै पारिवारिक पुनर्मिलन गराउने तयारी गरिएको छ ।