• २ असार २०८१, आइतबार

बालबालिकालाई पोलियो खोप

blog

अमरगढी समाचारदाता

डडेलधुरा, जेठ १० गते  । यस जिल्लामा रहेका छ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको (आइपिभी) खोप लगाइने भएको छ । जेठ १३ देखि २६ सम्म सो अभियान सञ्चालन गरेर आइपिभी खोप लगाइने भएको हो । करिब छ हजार १८६ जना बालबालिकालाई खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत केशर साउदले जानकारी दिनुभयो । यो खोप नपाएका बालबालिकालाई लगाइन लागेको हो ।

२०७३ वैशाखदेखि २०७५ साल भदौसम्म जन्मिएका बालबालिकाले यो खोप नपाएकाले खोप अभियान प्रारम्भ हुन लागेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर निरीक्षक हरिप्रसाद भट्टले जानकारी दिनुभयो । सो अवधिमा जन्मिएका बालबालिकाको सङ्ख्या छ हजार १८६ रहेको छ । स्वास्थ्य कार्यालयले जिल्लाका सात वटै स्थानीय तहमा खोप सञ्चालनका लागि आवश्यक तयारी थालेको छ ।

२४० खोप केन्द्रमा ४४५ स्वयंसेवकले खोप लगाउने उहाँले बताउनुभयो । मङ्गलबार आयोजित जिल्लास्तरीय खोप समन्वय समितिको बैठक तथा अन्तक्रिया कार्यक्रममा उहाँले ५२ वटै वडामा रहेको विभिन्न विद्यालयमा खोप केन्द्र राखिएको बताउनुभयो । विद्यालयमा भर्ना भएका बालबालिकाको जन्ममितिका आधारमा खोप लगाइने छ । सुईमार्फत लगाइने खोप डडेलधुराका लागि एक हजार ३२५ भाइल आएको छ । एक भाइलमा पाँच वटाका दरले खोप हुने उहाँले बताउनुभयो । खोप अभियान देशभर जेठ १३ देखि २६ सम्म सञ्चालन गरिँदै छ । उहाँले भन्नुभयो, “यहाँ जेठ २२ सम्म मात्रै अभियान सञ्चालन गर्ने छौँ तर जिल्ला सदरमुकामको डडेलधुरा अस्पतालमा जेठ २६ सम्म नै खोप लगाउने व्यवस्था गरिएको छ ।”

छुटपुट सबैलाई खोप लगाउने गरेर अस्पतालमा २६ गतेसम्म खोप केन्द्र स्थापना गरेर अभियान सञ्चालन गरिने उहाँले बताउनुभयो । जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारीले खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बतानुभयो । दिगो विकासको लक्ष्यसँग यो खोप जोडिने भएकाले अभियानलाई सफल पार्न सबैले सहयोग गर्ने विश्वास आफूले लिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी अन्जन न्यौपानेले खोप अभियान सफलताको शुभकामना दिनुभयो । विश्वबाट पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्न खोप अभियान सञ्चालन गर्न थालिएको हो । पोलियो रोगको सङ्क्रमण भए निको हुँदैन । पोलियो रोगको सङ्क्रमण हुन नदिन पोलियो थोपा खुवाउने र खोप लगाइने गरेको छ ।