• २ असार २०८१, आइतबार

परम्परागत पोसाक बुन्ने तालिम

blog

सहभागीले तालिमबाट तयार पारेको रातो काम्लो ओढ्दै । तस्बिर : राजन रावत

हुम्ला समाचारदाता

हुम्ला, जेठ १० गते । लामा समुदायका महिलालाई परम्परागत पोसाक बुन्ने तालिम प्रदान गरिएको छ । उक्त पोसाक बुन्ने सिपको संरक्षण गर्न र महिलाको आम्दानी बढाउन यो तालिम प्रदान गरिएको हो । 

तालिम पाउनुभएकी सिमकोट गाउँपालिका–३ की निमा लामाले निकै मेहनत लाग्ने र मूल्य पनि महँगो पर्ने लामा समुदायले लगाउने र ओढ्ने पोसाक बुनाई तालिम पाएको बताउनुभयो । उहाँले पछिल्लो पुस्ताले यो पोसाक बुन्न र लगाउन नछोडोस् भन्नका लागि यसको संरक्षण गर्न आवश्यक रहेको निष्कर्ष निकालेर पन्ध्र दिने पुनर्ताजकीय तालिम प्रदान गरिएको बताउनुभयो । 

अघिल्लो वर्ष एक महिनाको तालिम प्रदान गरिएको थियो । यो तालिमले परम्परागत पोसाक बुन्ने सिपको मात्र संरक्षण नभई महिलाको आम्दानीमा समेत वृद्धि हुने विश्वास गरिएको छ । 

सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले तालिम उपयोगी र उपलब्धिमूलक हुने भएपछि केही सिप भएका महिलालाई यी पोसाक बुनाइ तालिम दिएर दक्ष बनाइएको बताउनुभयो । 

तानबाट हातैले तयार पारिएका यस्ता पोसाकको २५ हजारभन्दा बढी मूल्यमा बिक्री हुने गर्छ । तालिममा सहभागी महिलाले रातो काम्लो, बक्खुलगायतका पोसाक तयार पार्नुभएको छ । 

तालिमको सहजीकरण सिप सिक्नुभएकी स्थानीय महिलाबाटै गरिएको हो । यसका लागि गाउँपालिकाले आयआर्जन तथा सिप विकासका लागि लगानी गरेको हो ।