स्मृति मिश्र
महेन्द्रनगर (धनुषा), जेठ ९ गते । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरधाममा प्रदर्शन भएको छ । नेपाल विद्यार्थी सङ्घ र जनकपुरधामका उद्योगी व्यवसायीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेका हुन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई बुधबार जनकपुरधाम ल्याइएको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न सिरोहियालाई आजै जिल्ला अदालतमा धनुषामा उपस्थित गराएको धनुषा जिल्लाका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता रञ्जन अवाले जानकारी गराउनुभयो ।
जिल्ला प्रहरी कार्यलय धनुषाद्वारा मङ्गलबार जिल्ला अदालत धनुषाबाट सिरोहियाविरुद्ध पक्राउ पुर्जी लिएको प्रवक्ता अवाले बताउनुभयो ।
प्रहरीका अनुसार सिरोहियालाई कान्तिपुर मिडिया हाउसको मुख्यालयमा रहेको आफ्नै कार्यकक्षबाट मङ्गलबार साँझ नियन्त्रणमा लिइएको थियो । दोहोरो नागरिकता लिएको आरोपमा सिरोहियालाई पक्राउ गरिएको हो ।