सञ्जय कुमार मिश्र
गौर, जेठ ८ गते । रौतहटको गौर नगरपालिका वडा नं. १ भन्सार नजिकबाट प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
सङ्गठित अपराध, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी गौर नपा ५ बस्ने ५८ वर्षीय राजु मिश्रलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका मिश्रलाई सरकारी वकिल कार्यालयमार्फत रौतहट जिल्ला अदालतमा पेस गरिएको तथा अदालतले पुर्पक्षका लागि गौर कारागार पठाएको प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताउनुभयो ।
यसैगरी, ईशनाथ नगरपालिका वडा नम्बर ४ लत्तमरीमा प्रहरीले चेकप्वाइन्ट थापेर चेकजाँच गर्दै गर्दा बिआर ०५ एएन८११७ नम्बरको भारतीय मोटरसाइकलमा सवार व्यक्तिको शरीर खानतलासी गर्दा दुई लाख ९६० नेपाली र ७६५ भारतीय रुपियाँसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा इशनाथ नगरपालिका वडा नम्बर ५ का रामचरण साहको ३१ वर्षीय छोरा सन्तोषकुमार साह रहेका छन् । उनलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान पश्चात् आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको प्रहरी निरीक्षक शर्माले जानकारी दिनुभयो ।