• १८ असार २०८१, मङ्गलबार

रोएर केही नहुने भयो : द्वन्द्वपीडित

blog

काठमाडौँ, जेठ ८ गते । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले सञ्चालन गरेको १० वर्षे जनयुद्धमा बेपत्ता पारिएका परिवारले ‘रोएर गिड्गिडाएर केही नहुने’ गुनासो गरेका छन् । राज्य र विद्रोही माओवादी पक्षबिच शान्ति सम्झौता भएको १८ वर्ष पुग्दासम्म ‘न लास, न सास’ केही नपाएको भन्दै उनीहरूले आक्रोश पोखेका हुन् ।

वरिष्ठ अधिवक्ता एवं बेपत्ता विपिन भण्डारीका बुवा एकराज भण्डारीले शान्ति सम्झौता भएको १८ वर्ष पुग्दासमेत बेपत्ता नागरिकको खोजी गर्न कसले अड्कायो भन्दै प्रश्न गर्नुभयो । बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया आधारपत्र सार्वजनिक गर्दै उहाँले आफ्नो छोरा जस्तै हजार नागरिक बेपत्ता भए पनि राज्य कानमा तेल हालेर बसेको गुनासो गर्नुभयो । उहाँले राज्य आफ्ना बेपत्ता नागरिक खोज्न उदासीनता देखाएको भन्दै राज्य पद्धतिमै शङ्का गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । 

यस्तै बेपत्ता माओवादी नेता दण्डपाणि न्यौपानेकी श्रीमती शान्ता न्यौपानेले जनयुद्धमा सहिद र बेपत्ताले देखेका सपना पूरा गर्न सबै माओवादी घटक मिल्न सुझाव दिनुभयो । “आफ्नो हक अधिकारका लागि लड्ने नागरिकलाई तत्कालीन राज्यले बेपत्ता बनायो । ती कहाँ छन् ? कस्तो अवस्थामा छन् ? खोजी गर्नु प¥यो । राज्यले खोजी गरेर दोषी देखिएकालाई कडा कारबाही गर्नु प¥यो,” उहाँले भन्नुभयो । उहाँले माओवादी जनयुद्धकै बलमा देशमा यति ठुलो परिवर्तन भए पनि उनै बेपत्ता नागरिकको खोजी नहुनु दुःखद भएको बताउनुभयो । 

यस्तै बेपत्ता सन्तति फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले बेपत्ताको खोजी गर्न माग गर्दा गर्दै थाकिसकेको भन्दै निराशा व्यक्त गर्नुभयो । “शान्ति प्रक्रिया भएको यतिका वर्ष भयो । बेपत्ता बा–आमाको खोजी गरभन्दा हामी थाकिसक्यौँ । एउटै कुरा कति सुनाउने भन्ने भइसक्यो,” उहाँले भन्नुभयो । 

यस्तै बेपत्ता पारिएका पत्रकार मिलन नेपालीकी श्रीमती सबिता बस्नेतले आफ्ना श्रीमान्को तत्कालीन राज्यले कहाँ र कसरी बेपत्ता बनायो, त्यसको खोजी हुनुपर्ने माग राख्नुभयो । 

बेपत्ता योद्धा परिवार समाज नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘१५ औँ राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा बेपत्ता योद्धा दिवस र शान्ति प्रक्रिया अन्तर्क्रिया कार्यव्रmम’ मा बेपत्ता परिवारले यस्तो आग्रह गरेका हुन् । 

तत्कालीन माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपाने, मिलन नेपाली, कमला शर्मा, नवीन गौतम, प्रेमबहादुर विश्वकर्मा, दीपक सुवेदी, फिरु थरू, रवीन्द्र खड्कालाई बेपत्ता पारेको दिनलाई माओवादी घटकले हरेक जेठ ७ गते राष्ट्रिय बेपत्ता योद्धा स्मरण कार्यक्रम गर्दै आएका छन् । जनयुद्धमा राज्य र विद्रोही गरेर कुल एक हजार ७३० जना बेपत्ता भएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

सो कार्यक्रममा तत्कालीन सभामुख एवं नागरिक अगुवा दमननाथ ढुङ्गानाले बेपत्ता नागरिकको खोजी गर्नुभन्दा पहिला राज्यको खोजी गर्न बेपत्ता परिवारलाई आग्रह गर्नुभयो । “शान्ति प्रव्रिmया भएपछि यति धेरै प्रधानमन्त्री भए । माओवादी आफैँ चार पटक सरकारको नेतृत्व गरिसक्यो । हरेक वर्ष बेपत्ताको खोजी गर्न भाषण छाँट्ने काम मात्रै भयो । प्रगति केही भएको छैन । अब बेपत्ता नागरिक होइन राज्य खोजौँ । त्यसपछि सबै हुन्छ,” उहाँले भन्नुभयो । 

नेपाल कम्युनिस्ट पार्टीका नेता अग्निप्रसाद खरेलले शान्ति प्रक्रियाका धेरै काम पूरा भए पनि द्वन्द्वकालीन मुद्दा किनारा लगाएर क्षतिपूर्ति दिन बाँकी भएकाले ती सबै पूरा हुने दाबी गर्नुभयो । उहाँले माओवादी द्वन्द्वमा बेपत्ता भएका तीन सयभन्दा बढीको मुद्दा जोखिम मोलेर लडेकाले राज्यले खोजी गर्नुपर्ने बताउनुभयो । यस्तै नेपाली कांग्रेसकी नेता पुष्पा भुसालले शान्ति प्रक्रिया कुनै पार्टी विशेषकोभन्दा राष्ट्रिय मुद्दा भएकाले सबै मिलेर टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले १२ बुँदे सम्झौता भएको छ महिनाभित्र शान्ति प्रव्रिmया टुङ्गो लगाउने भनिए पनि अझै पूरा हुन नसकेको बताउनुभयो । उहाँले अहिले शान्ति प्रक्रिया पूरा गर्न खोज्दा कतिपय शक्ति भाँडेर एकले अर्कोलाई सिध्याउने खेलमा लागेको उल्लेख गर्नुभयो । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले शान्ति प्रक्रिया पूरा गर्नु सबैको चासोको विषय भए पनि १८ वर्षसम्म पार नलाग्नु दुःखद भएको बताउनुभयो ।

   

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।