• १२ साउन २०८१, शनिबार

कठरिया भाषा कक्षा सञ्चालनमा

blog

सरासर पढ्ने र लेख्ने कक्षामा सहभागीहरु । तस्बिर : टिआर कठरिया

चाँदनी आचार्य 

घोडाघोडी(कैलाली) जेठ ६ गते । कैलालीमा कठरिया समुदायको भाषा लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि कक्षा सञ्चालन गरिएको छ । कठरिया भाषा सरासर पढ्ने र लेख्ने कक्षा सञ्चालन भएपछि कठरिया समुदायका व्यक्तिहरुलाई कतिपय बिर्सिएका आफ्ना भाषाहरु सम्झिनका लागि सजिलो भएको बताएका छन् ।

हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीका विभिन्न ठाउँमा १५ वटा कक्षा सञ्चालन भएको हो । एक महिनाका लागि सञ्चालन भएको उक्त कक्षामा कठरिया समुदायका देवनागरीमा लेख्न र पढ्नसक्ने २५/३० जना सहभागी रहेको जनाइएको छ । वैशाख पहिलो सातादेखि कक्षा सुरु भएको जनाउँदै हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले कठरिया समुदायका नेपाली सरासर पढ्न, लेख्न सक्ने, अन्य भाषा मिसाएर बोल्नेलाई एक महिना कक्षा सञ्चालनको व्यवस्था गरिएको जानकारी दिनुभयो ।

कक्षाले अन्य भाषा पढ्न र लेख्नमा अब्बल भएका व्यक्तित्वहरुलाई आफ्नो भाषामा समेत केही कुरा लेख्न र पढ्न उत्प्रेरणा मिल्ने बताइएको छ । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी, गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, कैलारी, बर्दगोरिया गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास छ । भारतको उत्तर प्रदेशस्थित लखिम खिरी क्षेत्रमा समेत कठरिया समुदायको बसोबास रहेको बताइएको छ ।

कक्षा सञ्चालन उल्लेखित पालिका अन्तर्गत कठरिया समुदाय रहेको मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सिपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, कोंटा, चर्रा, पवेरा र लौसामा भैरहेको छ । तीमध्ये शनिबार चर्रामा कक्षा समापन भएको र अन्य ठाउँमा समेत अन्तिम चरणमा पुगेको फिल्ड सुपरभाइजर कठरियाले जनाउनुभयो ।

कक्षा सञ्चालन गर्नुपूर्व सरोकारवालाहरुको बैठक, स्थलगत सर्वेक्षण, पाठ्यपुस्तक निर्माणलगायत दुईदिने शिक्षक तालिम आयोजना गरिएको जनाइएको छ । कक्षामा सहभागीहरुले आफूहरुले समाजमा विभिन्न समुदायसँगको सङ्गतले र विद्यालयमा समेत देवनागरी लिपिमा पढ्नाले आफ्नो भाषा अल्मलिने अवस्था आएको बताए । उनीहरुले कठरिया समुदायको भाषालाई सरासर पढ्न र लेख्न कक्षाले सहयोग पुर्‍य ाएको बताएका छन् भने कठरिया समुदायको भाषा, सांस्कृतिक संरक्षणमा समेत सहयोग पुर्‍य ाएको प्रतिक्रिया दिएका छन् ।