• १३ साउन २०८१, आइतबार

रैथाने बाली उत्पादन सम्बन्धी किसानलाई तालिम

blog

तालिममा सहभागी किसानहरु । तस्बिर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, जेठ ३ गते । बाँकेको बैजनाथ गाउँपालिकाले पालिकाभित्रका किसानहरूलाई स्थानीय स्तरमा पाइने रैथाने बाली उत्पादन प्रविधि सम्बन्धी तीन दिने तालिम सञ्चालन गरेको छ । तीन दिने उक्त तालिमको बिहीबार बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले उद्घाटन गर्नुभएको हो ।

उहाँले किसानहरूलाई व्यावसायिक तरकारी खेती उत्पादन तथा प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ तालिम सञ्चालन गरिएको बताउनुभयो । पालिकामा ७० प्रतिशत भन्दा बढी किसानहरू रैथाने बालीको खेती लगाउने भएकाले किसानले उत्पादन गर्ने खेतीलाई प्रविधिसँग जोडेर थप उत्पादनमा सहयोग पुग्ने किसिमले तालिमको आयोजना गरिएको अध्यक्ष शाहीले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकालले प्रविधिसँग नजिक बनाई उत्पादनमा अभिवृद्धि गरी किसानलाई रैथाने कृषि पेसामा आत्मनिर्भर बनाउने अभिप्रायले तालिम प्रदान गरिएको बताउनुभयो ।

कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानलाई प्रविधि र प्रकृतिसँग जोड्न अति आवश्यक रहेको बताउँदै किसानहरूलाई आधुनिकीकरण प्रविधि र प्रकृतिसँग जोडेर कुन समयमा के कस्तो खेती आवश्यकता छ ? कुन समयमा के गर्ने ? सिचाइ कसरी गर्नेलगायतका विभिन्न विषयहरूमा तालिम प्रदान गरिने बताउनुभयो । आर्थिक विकास समितिका संयोजक प्रेमबहादुर शाहीले रैथाने बालीको माग बढी भएपछि रैथाने बाली उत्पादन, संरक्षण तथा प्रवर्धन गर्न किसानलाई यो तालिमले सहयोग पुग्ने बताउनुभयो ।

फापर, भटमास, कोदो, स्थानीय जातका धान, गहुँ, मकै तथा स्थानीयस्तरमै पाइने विभिन्न प्रजातिका फलफूलहरू रैथाने बालीभित्र पर्ने गाउँपालिकाले जनाएको छ । तालिममा ८ वटै वडाका २३ जना किसानहरू सहभागी थिए ।