• ९ मंसिर २०८१, आइतबार

सप्तरीमा युवकको शव फेला

blog

देवरामप्रसाद यादव

सप्तरी, जेठ ३ गते । सप्तरीको राजविराज नगरपालिका-१३ स्थित खाँडो खोलामा युवकको शव भेटिएको छ । राजविराज नगरपालिका १३ प्रिपाहीका अशोक यादवको छोरा १९ वर्षीय सुनिल कुमार यादव बिहीबार दिउँसो मृत भेटिएको हो । 

राजविराज नपाको १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको सप्तरीका प्रमुख प्रहरी उपरीक्षक गजुसिद्वी बज्राचार्यले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँका अनुसार यादव साइकलसहित घोप्टो परेको अवस्थामा खोला किनारमा मृत फेला परेको र नाकबाट रगत आएको देखिएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको तथा पोष्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नकिने उहाँले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख बज्राचार्यले बताउनुभयो ।

मृतक युवकको शरीरका विभिन्न भागमा चक्कु प्रहार भएको स्थानीयले बताउनुहुन्छ । बुधबार राती खाना खाएर घरपरिवारसँगै सुतेका उहाँ बिहीबार बिहान ३ बजेतिर नाति सुतेको ढोका खुल्ला रहेको पाइएपछि हेर्न जाँदा नभेटिएको हजुरआमा अमोलिया देवी यादवले बताउनुभयो । हजुरबुवा र हजुरआमासँगै बस्दै आएको मृतक सुनिल घरबाट बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा बिहीबार दिउँसो खाँडो खोलामा गाईभैँसी गोठालो गएकाहरूले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतकका बुवा अशोक वैदेशिक रोजगारीको लागि विदेशमा रहेको तथा आमा दुई छोरी र कान्छो छोरो सहित राजविराजमा कोठा भाडा लिएर बस्दै आएको स्थानीयले बताएको छ।