• १२ साउन २०८१, शनिबार

स्वास्थ्य सञ्जालमा जोडिँदै कर्णाली पारीका गाउँबस्ती

blog

कर्णाली पारीका दुर्गम गाउँबस्तीका गर्भवती महिलाहरू गाउँमै रहेको स्वास्थ्य संस्थामा गर्भजाँच गर्दै । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, जेठ ३ गते । बाजुराको पूर्विउत्तर क्षेत्रमा रहेको कर्णाली पारीको स्वामिकार्तिक खापर गाउँपालिकाका दुर्गम गाउँबस्ती पछिल्लो समय स्वास्थ्य सञ्जालमा जोडिँदै आएका छन् । पालिकाले प्रत्येक गाउँ बस्तीमा प्राथमिक तथा सामुदायिक स्वास्थ्य इकाई विस्तार गर्दै आएपछि अहिले ती दुर्गम गाउँ बस्ती स्वास्थ्य सञ्जालमा जोडिँदै आएको हो ।

सामान्य बिरामी हुँदा उपचारका लागि दुई चार दिन पैदल हिँडेर कोल्टी प्राथमिक स्वास्थ्य संस्थामा आउने गरेका यहाँका स्थानीयले पछिल्लो समय त्यो सबै सेवा गाउँमै स्थापना गरेका स्वास्थ्य संस्थामा लिने गरेको स्वामिकार्तिक खापर गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ ।

खोप लगाउनकै लागि यहाँका महिलाले दुई चार घण्टाको बाटो हिँडेर स्वास्थ्य चौकीमा आउने गरेका थिए । अहिले गाउँमै स्थापना गरेका स्वास्थ्य संस्थाहरूमा खोप सञ्चालन गरेपछि उनीहरूको त्यो समस्या हट्दै गएको स्वामिकार्तिक गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्भवती महिलाहरूले यो भन्दा पहिला गर्भजाँच गर्नका लागि कोल्टी जानुपर्ने समस्या थियो । अहिले गाउँमै अल्ट्रासाउन्ड सेवा सुचारु गरेपछि महिलाहरूको त्यो समस्या हटेको छ ।”

कर्णाली पारीका दुर्गम गाउँ बस्तीका स्थानीयको स्वास्थ्य उपचारमा ध्यान दिँदै पछिल्लो समय यहाँका प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई स्थापना गरेको शाहीले बताउनुभयो। बिरामी हुँदा दुई चार दिन हिँडेर कोल्टीमा जानु पथ्र्यो । अहिले गाउँमै स्वास्थ्य संस्था स्थापना भएपछि त्यो समस्या हटेको स्वामिकार्तिक गाउँपालिका–२ की विनीता विकले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँमा स्वास्थ्य संस्थाको पहुँच नहुनु तथा यहाँका महिलाहरूलाई चेतनाको कमीका कारण अधिकांश महिलाहरूले गर्भवती भएको बेलामा खोप लगाउँदै थिए ।” अहिले गाउँ घरमै स्वास्थ्यकर्मी आएर स्वास्थ्य सम्बन्धित विभिन्न जनचेतना फैलाउँदै गएपछि गर्भवती भएका बेलामा लगाउनु पर्ने सबै प्रकारका खोप तथा गर्भजाँच गर्दै आएको विकले बताउनुभयो ।

केही वर्ष पहिला दुई चार वटा स्वास्थ्य चौकी मात्र रहेको यो पालिकामा अहिले ३ वटा स्वास्थ्य चौकी दुई वटा प्राथमिक आधारभूत स्वास्थ्य केन्द्र र ४ वटा सामुदायिक स्वास्थ्य इकाई केन्द्र गरी ९ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् । बाजुराको सबैभन्दा बढी विकट ठाउँको रूपमा लिँदै आएको यो कर्णाली पारीका गाउँ बस्ती स्वास्थ्य सञ्जनाले जोडिँदै गएपछि अहिले यहाँका गर्भवती तथा सुत्केरी महिलालाई निकै सहज भएको हो ।

केही वर्ष पहिला स्वास्थ्य कर्मीको अभावमा काम गर्न समस्या हुने गरेको यो पालिकामा पछिल्लो समय प्यारा मेडिकल १९ स्टाफ नर्स १६ ल्याब अष्सिटेन्ट ३ कार्यालय सहयोगी १२ र स्वीपर ६ जना गरी ५१ जना कर्मचारी रहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो ।

जिल्लाको सबैभन्दा विकट पालिकाको रूपमा रहेको स्वामिकार्तिक खाप गाउँपालिकामा शिक्षा स्वास्थ्य तथा बाटोको समस्या थियो । पालिकाले त्यो सबै प्रकारका समस्या हट्ने गरी प्रत्येक वर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी र सडकमा रकम विनियोजन गर्दै आएपछि दुर्गम गाउँबस्तीका स्थानीयलाई केही सहज भएको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी पहिलो प्राथमिकता शिक्षा र स्वास्थ्यलाई राख्दै आएपछि अहिले यहाँका दुर्गम गाउँ बस्तीको शिक्षा स्वास्थ्यको क्षेत्रमा निकै परिवर्तन भएको छ ।”

यहाँका स्थानीयको सामान्य खालको रोगलाई गाउँमै उपचार गर्ने र त्यो भन्दा बढी जटिल खालको रोगलाई निको पार्ने गरी प्रत्येक वर्ष विशेषज्ञ डाक्टर गाउँमै ल्याएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अध्यक्ष रोकायाले बताउनुभयो ।