• १३ साउन २०८१, आइतबार

बारीमा तरकारी घरमा रोजगारी

blog

कावासोती १६ बाइसघरेमा लगाइएको तरकारी ।

मीना कँडेल

कावासोती, जेठ २ गते । रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि कावासोतीका नारायण प्रेरणाको स्रोत बन्नुभएको छ । व्यावसायिक तरकारी खेतीमा दैनिक श्रम गर्ने उहाँलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ ।

नवलपुर कावासोती नगरपालिका १६ का ४५ वर्षीय नारायण लामिछानेको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उहाँको आम्दानीको स्रोत नै खेतबारी हो । नारायणका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी शिक्षण पेसा गरिरहेका छन्, उहाँ भने शिक्षण पेसा छोडेर तरकारी खेतीतर्फ लाग्नुभएको छ ।

आफूले गरेको तरकारी खेती देखाउँदै उहाँले भन्नुभयो, “आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ।” 

यतिखेर गर्मी सिजन सुरु भएसँगै खरबुजा बिक्री गर्न व्यस्त हुने गरेको छु । १४ वर्षसम्म अङ्ग्रेजी शिक्षकका रुपमा विद्यालय र क्याम्पसमा शिक्षण पेशा गर्नुभएको लामिछानेले शिक्षण पेसा छोडेर कृषितर्फ लागेको बताउनुहुन्छ ।

विगतमा उहाँ निर्वाहमुखी खेती गर्दै आए पनि पछिल्लो सात वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । बाह्रैमास उहाँको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारी खेती गर्ने उहाँको दैनिकी पनि निकै व्यस्त हुन्छ । आफूले उत्पादन गरेको तरकारी र खरबुजा बिक्रीमा कुनै समस्या नभएको लामिछानेले बताउनुभयो । जिल्लाको स्थानीय बजारमा खपत हुँदै आएको छ । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

कृषिका लागि बैंकबाट लिएको २० लाख ऋणको ब्याज तिर्ने र घरखर्च चलाउने सबै खर्च तरकारी खेतीबाट भएको आम्दानीले नै पुगेको छ । बारीबाट टिपेको ताजा तरकारी सहुलियत दरमा पाएपछि खुसी पनि हुनुहुन्छ । कहिलेकाहीँ उत्पादन बढी हुँदा म आफैं गाडीमा राखेर बिक्री गर्न हिँड्छु नभए सबै बारीबाट नै बिक्री हुन्छ । अहिले उहाँको खेतबारीमा लौका घिरौंला, करेला, बोडी, टमाटर, फर्सीको मुन्टा र खरबुजा सबै तरकारी फलेको देख्न सकिन्छ । 

कावासोती–१७ का मीनबहादुर महतोले पनि खरबुजाबाट राम्रो आम्दानी गर्नुभएको छ । करिब तीन बिघा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएकोमा उहाँले यसपटक खरबुजा फलाउनुभएको छ । खरबुजा लगाइएको क्षेत्रमा यसअघि करेलाखेती गरेकामा यसपटक खरबुजा लगाएर सफल भएको महतोले बताउनुभयो । सरस्वती जातको खरबुजा लगाउनुभएका उहाँले ६० दिनपछि उत्पादन भएको र हालसम्म ८० क्विन्टल हाराहारीमा बिक्री गरेको बताउनुभयो । 

चैतको पहिलो हप्तादेखि उत्पादन सुरु भएकामा जेठसम्म खरबुजा फल्ने उहाँले बताउनुभयो । रु. छ लाख आम्दानी हुने अनुमान गरिएकामा उत्पादन बढेकाले सोचेभन्दा धेरै बिक्री हुने र आम्दानी बढ्ने देखिएको उहाँले बताउनुभयो । आफूहरूले कुनै विषादी प्रयोग नगरी उत्पादन गरेकाले बारीबाटै दैनिकजसो दुई क्विन्टल बिक्री हुने गरेको उहाँले बताउनुभयो । 

नवलपुरका किसान खरबुजाबाट राम्रो आम्दानी भएपछि यसतर्फ आकर्षित हुन थालेका छन् । विभिन्न स्थानमा लगाइएका खरबुजा अहिले आफ्नै बगानबाट बिक्री हुँदा किसान खुसी भएका छन् ।