• १३ साउन २०८१, आइतबार

अमेरिकन फौजी किराको प्रकोपले किसान चिन्तित

blog

गुणबहादुर रोका

सुलीकोट, जेठ २ गते । गोरखाको पालुङटार नगरपालिकामा फौजी किराले मकै बालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित भएका छन् । पालुङटार नगरपालिकाभित्रका सयौँ किसानले लगाएको हजारौं हेक्टर जमिनको मकै बालीमा अमेरिकन फौजी किरा लागेपछि किसानहरु मर्कामा परेका कृषि ज्ञानकेन्द्र गोरखाका कार्यालय प्रमुख मिरा चौधरीले जानकारी दिनुभयो ।  

उहाँका अनुसार लामो समयसम्म सुख्खा मौसमका साथै किसानहरुले सरसल्लाह नगरी बालीनाली लगाएकाले पनि फौजी किराको प्रकोप बढेको हो । किरा मार्ने औषधी प्रयोग नगरेको पाइएकोले मकैको भित्री गुभामा किराले काट्ने गरेको पाइएको छ । त्यस्तै पालुङटार नगरपालिका जिल्लाकै सबैभन्दा गर्मी क्षेत्र भएकाले पनि अन्य ठाउँमा भन्दा यस ठाउँमा बढी फौजी किरा लाग्ने गरेको उहाँले बताउनुभयो । 

अमेरिकन फौजी किराले मकैलगायतका लहरेबालीमा समस्या आएकाले यसबाट किसान चिन्तित भएको पालुङटार नगरपालिका-४ स्थानीय किसान कृष्णकुमार श्रेष्ठको भनाइ छ । यसको समाधानका लागि कृषि ज्ञानकेन्द्र गोरखासँग आवश्यक रायसल्लाह र फौजी किरालाई नियन्त्रण गर्न औषधी माग गरिएको उहाँले बताउनुभयो । यता कृषि ज्ञान केन्द्र गोरखाका बाली संरक्षण अधिकृत अन्न दत्ता बिष्टले भने किसानहरुले मकैबाली लगाउने बेलादेखि नै किसानले जैविक र रासायनिक विषादी प्रयोग गरेको भए यस्तो अवस्थामा निकै कमी आउने उहाँको बुझाइ छ । उहाँका अनुसार यस रोगलाई नियन्त्रण गर्न इनामेक्टिन बेन्जोएड नामक विषादी स्प्रेमार्फत मकैमा औषधी प्रयोग गर्न सल्लाह दिइएको बालीसंरक्षण अधिकृत बिष्टले बताउनुभयो । कृषि ज्ञान केन्द्रले किसानहरुलको सकेको सहयोग गर्ने पनि उहाँले बताउनुभयो । बिषादीलाई स्प्रेमार्फत बिहान र बेलुकाको समयमा ओषधी प्रयोग गर्यो भने अझ प्रभावकारी हुने बिष्टको भनाइ छ । 

केहि दिन अगाडि मात्र कृषि ज्ञान केन्द्रको आयोजन तथा पालुङटार नगरपालिकाको समन्वयमा पालुङटारको बाह्रपिर्केमा बाली उपचार शिविर सञ्चालन गरिएको थियो । त्यही शिविरमा किसानहरुले आफ्नो बालीको नमुना परीक्षण गरेका थिए । 

अहिले पालुङटार नगरपालिकामा मकैबालीमा अमेरिकन फौजीकिरा र मकैको गबारो, लहरे बालीमा लाही किरा र रातो खबटेकिरा, काक्रो र करेलामा फल कुहाउने झिँगा, लिचिमा सुलसुले, मेवामा मिलि बग र कागतीमा पात खन्ने किरा सिट्रस क्यान्कर कत्ले किरा देखिन थालेको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।