लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ १ गते । लामो समय संघर्ष गर्दा पनि एसिड पीडित आरती साहले नागरिकता पाउन सक्नुभएको छैन । नागरिकता नहुँदा विभिन्न खालका समस्यासँग जुध्नु परेको छ भने सोचे र चाहे जस्तो काम समेत गर्न पाउनुभएको छैन आरतीले ।
आरतीका श्रीमान् संजिव साहले वि.स.२०७७ साल कात्तिक २९ गतेका दिन एसिड प्रहार गरेपछि अनुहार जल्नुका साथै आरतीको आँखा समेत गुमाउनुको पिडा त छँदै छ, त्यसमा पनि अनागरिक भएर बाँच्नुले थप पीडा दिएको बताउनुहुन्छ । आरती भन्नुहुन्छ, “जिल्ला प्रशासन कार्यालय धनुषाले मागे अनुसारको नागरिकताका लागि चाहिने सम्पूर्ण कागजात उपलब्ध हुँदा पनि कार्यालयले बारम्बार विभिन्न कागजात मगाएर पीडितलाई थप पिडा दिएको छ ।” म एक्लो महिला त्यही पनि एसिडले जलेको शरीर लिएर कहाँकहाँ धाउनु, एकै पटक सबै कागजात माग्नु पर्ने हो तर, यहाँ पटकपटक माग्दा झनै पीडा दिएको महसुस भएको साह भन्नुहुन्छ ।
करिब चार वर्षअघि आफ्नै श्रीमानद्वारा एसिड छ्यापिएकी आरतीसँग अहिले नागरिकता नहुँदा विभिन्न खालको समस्या भोग्नुपरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विवाह भएदेखि नै ससुराली पक्षले शारीरिक तथा मानसिक रुपमा यातना दिँदै आएका थिए । तर, एक दिन त्यो यातनाले पनि हद पर गर्यो, जब मेरै श्रीमान्ले तेजाब छ्यापी दिए । मेरो जिवन अन्धकार बनाइदियो । तेजाबले मेरो अनुहारसहित आँखा र शरीरको विभिन्न भाग जल्यो । पिडामा झन् पिडा उतिबेला थपियो जब नागरिकता बनाउनकै लागि एसिडले जलेको अनुहारसँग कार्यालयहरुको ढोका ढोका ढकढकाउनु पर्छ र भन्नु पर्छ म एसिड पीडित हुँ । प्रत्येक व्यक्तिले प्रश्न गर्छन्, के भयो? कसरी जल्यो कतिलाई जवाफ दिनु, कतिपय अवस्थामा नबोली हिड्छु । तर, त्यसरी नबोली हिड्ने मान्छे चाँही म होइन ।”
दुई वर्ष पहिले जिप्रका धनुषाबाट ससुराली पक्षलाई सनाखतका लागि बोलाउन पहल पनि भएको थियो । तर, सुराली पक्षले आलटाल गरेपछि मेरो नागरिकताको प्रक्रिया अगाडी बढेन आरती भन्नुहुन्छ, “दुई-चार महिनामा प्रजिअ फेरिन्छन्, सबैलाई गएर मेरो सुरुदेखिको घटना सुनाउनु पर्दा दिक्क लाग्छ ।
नागरिकता नहुँदा छोरीको जन्मदर्ता बनाउन सकेको छैन । छोरीको भविष्य उज्वल बनाउन पनि नागरिकता चाहिन्छ भनेर पुनः नागरिकताका लागि कार्यालय पुगे, नयाँ प्रजिअ आउनु भएको रहेछ । उहाँलाई पनि आफ्नो घटना बारे सम्पूर्ण जानकारी दिए, उहाँले सकारात्मक प्रतिक्रिया दिनुहुँदै भन्नुभयो, "किन बन्दैन आरतीको नागरिकता, अवश्य बन्छ आरती नागरिकता, पीडितलाई थप पिडा दिने काम गर्नु हुँदैन, जन्मदर्ता र विवाह प्रमाणितको कागजात बनाएर ल्याउनु बाँकी पहल कार्यालयले गर्छ ।” यति कुरा सुने खुसी हुँदै घर फर्किए र त्यो कागज बनाउन मलाई करिब दुई महिना लाग्यो । त्यसपछि प्रजिअ कहाँ पुगे । पहिला त मलाई अर्कै कोठामा घुमाइयो । मैले भने प्रजिअ ज्यूले सिधा आफूलाई भेट्न भन्नुभएको छ, भन्दा पनि त्यहाँका गार्डलगायत अन्य कर्मचारीले कहिले यो कोठा कहिले त्यो कोठा घुमाइरहे, त्यसपछि बल्ल साढे तीन घण्टाको पखाई पछि प्रजिअसँग भेट भयो। उहाँले सबै कागजात लिएर भन्नुभयो, “अब हामी सम्पर्क गर्छौ, नआत्तिनु तपाईको नागरिकता बन्न समय चाँही लाग्छ ।”
एक महिना भयो कुनै खबर नआएपछि पुनः आफैं कार्यालय पुगे तर, त्यो दिन फेरि अर्को फारम थमाएर प्रजिअले भन्नुभयो, “फारममा लेखिएको कागजात ल्याउनु पर्छ ।” उक्त फारममा बुवा र आमासहित आरतीलाई चिन्ने पाँच जनाको मतदाता परिचय पत्र र ती पाँच जनाकै हस्ताक्षर समेत चाहिने थियो । यहि कागजात एकै पटक मागेको भए आरतीलाई थप झन्झट हुने थिएन ।
अहिले आरती साह छोरीलाई लिएर जनकपुरधाम उपमहानगरपालिकास्थित पेठिया बजार नजिकै डेरा लिएर बस्दै आउनु भएको छ भने घर खर्च टार्न तरकारी व्यापार गरिहरहनुभएको छ । आरतीसँग अहिले नागरिकताका लागि जन्मदर्ता, जन्म प्रमाणित, विवाह भएको प्रमाणित गर्न माइती र ससुराली पक्षको वडाबाट विवाह प्रमाणित कागजात समेत छ । प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयासँग फोन सम्पर्क हुन नसकेका कारण आरतीको नागरिकता बारे थप जानकारी पाउन सकिएन ।
मधेश प्रदेश सरकार मुख्य न्यायाधिवक्ताको कार्यालयमा एसिड पीडित साहलाई जागिर दिने बाचा गरेपनि नागरिकता नभएका कारण जागिर पाउनुभएन । निवर्तमान मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाले आफ्नो कार्यालयमा कार्यालय सहयोगीको जागिर दिने आश्वासन दिएपनि आरतीको नागरिकता नहुँदा जागिर पाउन सक्नु भएन आरतीले ।
जलेकाहरुको उपचारमा अहोरात्र खटिरहने सामाजसेवी उज्वलविक्रम थापाले नेपालभरीका एसिड पीडितहरुलाई कुनै न कुनै स्थानमा जागीरको व्यवस्था गरिएका कारण आरतीका लागि पनि जागीरको व्यवस्था गरिएको बताउनुभयो । तर, आरतीसँग नागरिकता नभएका कारण नियुक्ती पाउन नसकेको कुरा उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “अहिले पनि आरतीको नागरिकता बन्यो भने आरतीलाई जागीर दिलाउने प्रयासमा गर्नेछु ।”