• १२ साउन २०८१, शनिबार

लागूऔषध मुद्दामा ७७ जना पक्राउ

blog

महेन्द्रनगर (कञ्चनपुर), जेठ १ गते । प्रहरीले कञ्चनपुरमा लागूऔषधको कारोबार तथा दुर्व्यसनमा संलग्न ७७ जनालाई पक्राउ गरेको छ । खैरो हिरोइन, चरेसलगायतका लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा आठ जना महिला छन् । पक्राउ परेका सबैलाई कारबाहीको दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरूबाट छ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत प्रहरीले बरामद गरेको छ । “कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा बढी कैदीबन्दी लागूऔषध मुद्दाका छन्”, प्रहरी उपरीक्षक जोशीले भन्नुभयो । प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद-जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । 

प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो । यसैगरी प्रहरीले तीन महिनायता नेपाल-भारत सिमानाकाबाट ४९ जनाको उद्धार गरेको छ । हराएका ९७ मध्ये ६२ जना फेला परेका प्रहरी उपरीक्षक जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्यूनीकरण, लागूऔषध दुर्व्यसन, आत्महत्या न्यूनीकरण लगायतका कार्यक्रम जारी छ”, कञ्चनपुर प्रहरीले तीन महिनाको अवधिमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको एक करोड ५९ लाख मूल्यको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ । रासस