• २६ पुस २०८१, शुक्रबार

भेरी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. पाण्डे नियुक्त

blog

भेरी अस्पतालको प्रमुख नियुक्त हुनुभएका डा. पाण्डे । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, जेठ १ गते ।
पश्चिम नेपालमै सबैभन्दा बढी बिरामीको उपचार गर्दै आएको भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त हुनुभएको छ ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख डा. पाण्डेलाई नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रीस्तरको निर्णय गरेर प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको हो ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले राजीनामा दिनुभन्दा एकदिन अगाडि डा. पाण्डेलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गर्नुभएको हो । उहाँलाई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि प्रमुख मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरिएको जनाइएको छ ।

हाल डा. पाण्डे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट नेपालको प्रतिनिधित्व गर्दै किनोट स्पिकरको रूपमा जर्मनीको राजधानी बर्लिन हुनुहुन्छ । डा. पाण्डेले यसअघि भरतपुर अस्पतालमा पनि मेसुको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

लामो समयदेखि भेरी अस्पतालमा बसेर सेवा प्रवाह गर्दै आउनुभएका डा. पाण्डेले भेरी अस्पतालमा पहिलोपटक व्यवस्थापकीय जिम्मेवारी पाउनुभएको हो । डा. पाण्डे सिकलसेल र थालेसेमिया रोगको उपचारमा अब्बल मानिनुहुन्छ ।

लामो समयदेखि भेरी अस्पतालमा कार्यरत डा. पाण्डे अस्पतालको अवस्थाबारे पूर्णरुपमा जानकार रहनुभएकाले उहाँले अस्पतालका सेवा सुविधालाई थप सहज र सरल बनाउँदै बढीभन्दा बढीले उपचार पाउने वातावरण बनाउनुहुने विश्वास गरिएको छ ।