• २४ असार २०८१, सोमबार

बन्दुक देखाई लुटपाट गर्ने दुई भारतीय नागरिक पक्राउ

blog

बाँके प्रहरीले पक्राउ गरेका दुई जना भारतीय नागरिक । तस्बिर सौजन्य : बाँके प्रहरी

खजुरा,  जेठ २ गते । बाँके प्रहरीले डाँका चोरीमा संलग्न दुई जना भारतीय नागरिकहरूलाई पक्राउ गरेको छ । उनीहरूले विभिन्न धारिलो हतियारसहित बन्दुक देखाई रातीको समयमा घरमा पसेर धनमाल लुटपाट गरेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले हातहतियार देखाएर सर्वसाधारणको घरमा छिरेर लुटपाट गर्ने दुई जना भारतीय नागरिकलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बहराइच थाना खैरीघाट नमाबङ्गलाका ५५ वर्षीय मनेश्वर गोडिया र सोही ठेगानाका ५२ वर्षीय कुलेराज कुर्मी रहेको उहाँले बताउनुभयो ।

प्रनाउ डाँगीका अनुसार उनीहरूले गत चैत २६ गते राती १२ बजेको समयमा बाँकेको जानकी गाउँपालिका वडा नं. ४ जानकीनगरस्थित दुर्गाकुमारी दमाईको घरमा रहेको पसलबाट सामान चाहियो भनेर घरको ढोका खोल्न लगाई जबरजस्ती घरभित्र पसेर लुटपाट मच्चाएका थिए ।

उनीहरूले बन्दुक तथा धारिलो हतियार देखाएर घरमा रहेका तीन जना परिवारलाई कपडाले मुख छोपी हात बाँधेर घरभित्र रहेका सुनका गरगहना, मोबाइलहरू, पसलमा रहेका सामान तथा नगदसमेत लुटपाट गरेर भागेको प्रहरीले जनाएको छ ।

उक्त लुटपाटमा ७-८ जनाको संलग्नता रहेकोमा हाल दुई जना पक्राउ गरी बाँके जिल्ला अदालतबाट तीन दिन म्याद थप लिई अनुसन्धान सुरु गरेको र बाँकी दुई जना सन्दिग्ध व्यक्तिहरूको समेत पहिचान भई खोजतलास भइरहेको बाँके प्रहरीले जनाएको छ । प्रहरीले उक्त घटनाभन्दा पहिले जिल्लाका अन्य स्थानमा पनि भएका यस्तै प्रकृतिका डाँका चोरीका घटनामा पनि उनीहरूको संलग्नता हुन सक्ने आशङ्का गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।