• ९ मंसिर २०८१, आइतबार

झापामा हात्तीपाइलेको औषधी सेवन लक्ष्य नजिक

blog

कनकाई नगरपालिकामा हात्तीपाइले विरुद्धको औषधी सेवन गर्दै नगरप्रमुख राजेन्द्रकुमार पोखरेल । तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, वैशाख ३१ गते । झापामा हात्तीपाइले रोगविरुद्धको आम औषधी खुवाउने कार्यक्रमअन्तर्गत झापाका ७९.४६ प्रतिशतले औषधी सेवन गरेका छन् । ८० प्रतिशतभन्दा माथि औषधी सेवन गरेको खण्डमा यस अभियानलाई सफल मानिने सरकारी आँकडा रहेको थियो । 

झापामा वैशाख १६ देखि वैशाख ३० गतेसम्म सञ्चालित आम औषधी कार्यक्रम अन्तर्गत जिल्लाका ८ लाख ४ हजार ७३७ जनाले औषधी सेवन गरेका छन् । जुन ७९.४६ प्रतिशत हो । झापा जिल्लाको कुल जनसङ्ख्या १० लाख १२ हजार ६४२ रहेको छ । जिल्लामा अघिल्लो वर्ष ७७.६५ ले यो औषधी खाएको सरकारी तथ्याङ्क रहेको छ ।  

झापा जिल्लाका १५ वटा पालिकामध्ये बिर्तामोडले शतप्रतिशतभन्दा बढी प्रगति गर्दै पहिलो स्थान ओगटेको छ । बिर्तामोडको कुल जनसङ्ख्या १ लाख २० हजार ३३८ मध्ये १ लाख २० हजार ४८४ अर्थात् १००.१२ प्रतिशतले औषधी सेवन गरेको पाइएको छ । बिर्तामोडमा अन्यत्रका मानिसहरू समेत डेरा गरी बस्ने गरेका कारण लक्ष्य भन्दा बढीले यो औषधी सेवन गरेको पाइएको हो । 

त्यस्तै दोस्रो स्थानमा बुद्धशान्तिले कुल जनसङ्ख्या ५३ हजार १० मध्ये ४९ हजार ३७५ जना अर्थात् ९१.०३ प्रतिशतलाई औषधी खुवाएको जनाएको छ । तेस्रो स्थान हासिल गरेको शिवसताक्षी नगरपालिकाले कुल जनसङ्ख्या ७४ हजार ३६६ मध्ये ६७ हजार १२८ अर्थात् ८८.२६ प्रतिशतलाई औषधी सेवन गराएको छ ।

बाह्रदशी गाउँपालिकाले ३२ हजार ८०९ अर्थात् ८६.६२ प्रतिशत ,गौरीगञ्जले ३० हजार ५८३ अर्थात् ८६.५८ प्रतिशत, कचनकवल गाउँपालिकाले ३५ हजार ३८९ अर्थात् ८६.६३ प्रतिशत कनकाई नगरपालिकाले ४६ हजार २५१ अर्थात् ८५.३१ प्रतिशत, मेचीनगर नगरपालिकाले १ लाख ९ हजार ५९० अर्थात् ८१.१२ प्रतिशत, झापा गाउँपालिकाले ३० हजार २५१ अर्थात् ७६.६८ प्रतिशत, अर्जुनधारा नगरपालिकाले ६४ हजार ६४३ अर्थात् ७४.४४ प्रतिशत, दमक नगरपालिकाले ८१ हजार ७३६ अर्थात् ७२.९५ प्रतिशत, हल्दिवारी गाउँपालिकाले २३ हजार ६१५ अर्थात् ७१.९६ प्रतिशत, कमल गाउँपालिकाले ३९ हजार ५५ अर्थात् ७१.३९ प्रतिशत, गौरादह नगरपालिकाले ४१ हजार २८० अर्थात् ६६.९२ प्रतिशत र भद्रपुर नगरपालिकाले सबैभन्दा कम ३२ हजार ५४८ अर्थात् ४५.७४ प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाएको छ ।

गत वर्ष झापाको बुद्धशान्तिले सबैभन्दा धेरै ९२ प्रतिशत, गौरीगञ्जले ९१ प्रतिशत, हल्दिवारीले ८९ प्रतिशत, कमलले ८५ प्रतिशत, बाह्रदशी र गौरादहले ८३–८३ प्रतिशत, बिर्तामोडले ८२ प्रतिशत, मेचीनगरले ८१ प्रतिशत, झापा र कचनकवलले ८०–८० प्रतिशत, शिवसताक्षीले ७१ प्रतिशत, भद्रपुरले ५३ प्रतिशत, अर्जुनधाराले ५० प्रतिशत र कन्काईले ४६ प्रतिशतलाई हात्तीपाइलेको औषधि खुवाएका थिए ।

गर्भवती महिला, सिकिस्त बिरामी र दुई वर्ष मुनिका बालबालिकाबाहेक जिल्लामा साढे ९ लाख जनालाई औषधी खुवाउने लक्ष्य राखिएको थियो । यसपटक अभियानलाई सफल बनाउन भद्रपुर, कनकाई, कमल गाउँपालिकाले हात्तीपाइले कार्ड नै जारी गरेर अभियान सञ्चालन गरिएको थियो ।  नगरपालिकामा सेवा सुविधा लिन आउँदा अनिवार्य हात्तीपाइले औषधि सेवनको कार्ड ल्याउनुपर्ने नियम बनाइएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।