• १० जेठ २०८१, बिहिबार

सडकमार्गले सङ्कटमा पदमार्ग

blog

माथिल्लो मनाङ यात्राका क्रममा धूलो उडेपछि मुख छोपेर ढिकुरपोखरीबाट आफ्नो गन्तव्यतर्फ लाग्दै पर्यटकहरु । तस्बिर : यदुप्रसाद भट्ट

यदुप्रसाद भट्ट

मनाङ, वैशाख ३० गते । जताततै कच्ची सडक निर्माणले अन्नपूर्ण पदमार्ग सङ्कटमा परेको छ । एकातिर तीन हप्ता लाग्ने अन्नपूर्ण पदमार्ग १० दिनमै सीमित हुँदै गएको छ भने अर्कोतिर मुख्य सिजनमा पर्यटकले सास्ती पनि बेहोर्नुपरेको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक तथा पर्यटकीय स्थलहरुको यात्रा छोटिँदै पनि गएको छ । यसको प्रत्यक्ष मारमा होटल व्यवसायी परेका छन् । पदमार्गमा होटल व्यवसाय गर्दै आएका गोरखाका बाबुराम तामाङले पर्यटकले बसाइ छोट्याउँदा आफूहरु मारमा परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, "पहिलापहिला मोटरबाटो थिएन, धेरै दिन मनाङ घुम्थे, बस्थे । हामीहरुको पनि आम्दानी हुन्थ्यो । अहिले त जताततै कच्ची बाटो छ । सररर मोटरमा आउँछन् धूलो उडाउँदै जान्छन्, हामी त हेरेको हेरै ।" उहाँका अनुसार एकातिर धूलोले असर गरेको छ भने अर्कोतिर पर्यटकको बसाइ छोटिँदा होटल व्यवसायी प्रत्यक्ष मारमा परेका छन् । 

पाँच वर्ष अघिसम्म दैनिक १ सय ५० को हाराहारीमा पर्यटक आवतजावत गर्ने पदमार्गका सडकमा सवारीसाधन लमजुङको बेँसीसहरबाट सिधै मनाङका गाउँगाउँ पुग्न थालेपछि पदमार्गका होटल अहिले संकटमा परेका छन् । पदमार्ग हुँदै धूले सडक विस्तार भएपछि प्रचुर सम्भावना बोकेका पर्यटकीय क्षेत्र तथा पदमार्गको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । 

मनाङलाई सडक सञ्जालसँग जोड्न नेपाली सेनाले ३१ वर्ष अघि ट्रयाक खोल्यो । सेनाले २०६९ मा लमजुङ सदरमुकाम बेँसीसहरदेखि मनाङ सदरमुकाम चामेसम्मको ६५ किलोमिटरको सडकको ट्रयाक खोलेर यात्रा  सहज बनाइदियो । सेनाले सरकारलाई सडक हस्तान्तरण गर्दा स्थानीय खुसी पनि भए तर यो खुसी धेरै टिक्न सकेन । सडक सञ्जाल निर्माण भएपछि भने यहाँका स्थानीय जसले पर्यटकको भारी बोकेर दैनिकी चलाउने मजदुरलाई असर गरेको छ । यसले पदमार्ग नै प्रभावित भएको छ । 

माथिल्लो मनाङसम्म सडक सञ्जाल पुग्नु, केही स्थानमा पदमार्ग र सडक एउटै बनेपछि भने चक्रीय अन्नपूर्ण पदमार्ग नै सङ्कटमा पर्न थालेको छ । २०७१ मा सडक सञ्जालमा जोडिएको मनाङ सदरमुकाम त्यसको तीन वर्षपछि ६ किलोमिटर सडक विस्तार भई खाङसारसम्म पुगेको छ । यसले गर्दा पदयात्रामा निस्कने पर्यटक सीधै माथिल्लो मनाङको खाङसार पुग्ने गरेका छन् । यसको प्रत्यक्ष मारमा स्थानीय होटल व्यवसायी तथा ज्यालामजदुरी गर्ने भरियाहरु परेका छन् । उनीहरुको रोजीरोटी नै खोसिएको छ । 

होटल व्यवसायी सङ्घका अध्यक्ष तथा होटल यतीका सञ्चालक विनोद गुरुङले सिक्किमदेखि मनाङसम्म भाइचुङ र उनका साथीहरुले ब्रिटिस ट्राइम्फ ९०० सीसीको मोटरसाइकलमा निकै साहसिक यात्रा गरेको बताउनुभयो । गुरुङले यसरी सीधै पर्यटकहरु आउँदा व्यक्तिगत रुपमा आफूलाई फाइदा भएपनि पदमार्गका होटल व्यवसायी भने मर्कामा परेको बताउनुभयो । उहाँले पनि सडक सञ्जालले पर्यटकको बसाइ छोटिँदा आम्दानीको स्रोत पनि कम हुँदै गएको बताउनुभयो ।

पहाडी र हिमाली भेगको यात्रालाई सहज बनाउन निर्माण गरिएका सडकका कारण २१ दिनको अन्नपूर्ण चक्रीय पदमार्ग अहिले १० दिनमै पूरा हुने गरेको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "मनाङमा २०५० सम्म होटल खुलेका थिएनन्, चक्रीय अन्नपूर्ण पदमार्गको पनि प्रचारप्रसार थिएन । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) स्थापना भएपछि मात्र यसले संरक्षण र पर्यटन क्षेत्रको काम गर्न थालेको हो ।"

लमजुङको बेँसीसहरबाट सुरु हुने अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै विश्वको अग्लो हिमाली क्षेत्र थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ, जोमसोम र म्याग्दीबाट पोखरासम्म पुगेर टुंगिन्छ । यस पदमार्गसम्मै सडक पुग्दा कैयौं सडक भत्किएका छन् भने कतिपय सडकको नामनिसाना नै मेटिएको छ ।